PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

अमेरिकासँगको ‘एसपीपी’ सम्झौता अघि नबढाउने निर्णयको चीनले गर्‍यो प्रशंसा



पहिलोपोस्ट

अमेरिकासँगको ‘एसपीपी’ सम्झौता अघि नबढाउने निर्णयको चीनले गर्‍यो प्रशंसा
Photo : China Foreign Ministry

काठमाडौं : चीनले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बाट पछि हट्ने नेपालल सरकारको निर्णयको प्रशंसा गरेको छ। चीनको परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनामा मन्त्रालयका प्रवक्ता वाङ वेबिनलाई नेपालले एसपीपी अघि नबढाउने निर्णय गरेको बारेमा प्रश्न सोधिएको थियो। त्यसक्रममा उनले नेपालको निर्णयको स्वागत गरेका हुन्।

नेपालमा एसपीपीलाई लिएर विवाद बढिरहेको र त्यसलाई इन्डो प्यासेफिक रणनीतिसँग जोडिएर हेरिएको भन्दै सरकारको निर्णय उचित भएको बताएका हुन्।

उनले भने, ‘हामीले हालै नेपालमा एसपीपीको बारेमा व्यापक विवाद देख्यौं। विभिन्न राजनीतिक दल र समूहहरू, सरकार, सेना र नेपाली जनताले एसपीपीलाई इन्डो-प्यासेफिक रणनीतिसँग दाँजेर हेरेका छन्। उनीहरूले यसलाई नेपालको राष्ट्रिय हित विपरित र असंलग्न परराष्ट्र नीतिविरुद्ध मानेका छन्,’ उनले भने, ‘नेपालको मित्र र नजिकको छिमेकी तथा रणनीतिक साझेदार भएकाले चीनले नेपाल सरकारको निर्णयको प्रशंसा गर्दछ।’

चीनले नेपालको सार्वभौमसत्ता, स्वाधिनता र भौगोलिक अखण्डतालाई कायम राख्न र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई समर्थन गर्ने समेत जनाएको छ। वाङले चीन नेपालसँग मिलेर क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि काम गर्न तयार रहेको समेत बताए।

एसपीपीलाई लिएर संसददेखि सडकसम्म प्रश्न उठेपछि सरकारले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell