
हेटौंडा : आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्ने गरि आह्वान गरिएको हेटौंडा उपमहानगरपालिकाको नगर सभाको बैठक सुरु हुन सकेको छैन। आज बिहान १० बजेका लागि बोलाइएको बैठक दिउँसो २ बज्न लाग्दा समेत बैठक सुरु हुन नसकेको हो।
नगरसभामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरू बैठकमा सहभागी नभएकाले बैठक सुरु हुन नसकेको हो।
कार्यपालिका सदस्यहरुसँग कुनै पनि छलफल नै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेको र कार्यपालिका सदस्यहरुको अधिकार हनन भएको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ। हेटौंडाका १९ वटै वडाहरुका नागरिकलाई सम्बोभन गर्ने गरि बजेट ल्याउनका लागि सबै कार्यपालिका सदस्यहरुका बिचमा छलफल गरेर मात्र मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँले बजेट ल्याउनुपर्ने एमालेको उपमहानगरपालिका संसदीय दलका नेता नविन सिग्देलले बताए।
बजेट निर्माण गर्दा विषयगत समितिमा छलफल नगरिएको, कार्यपालिका बैठकबाट पास नगरिएको, चुनावका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यविधि संसोधन गर्न मेयर लामालाई निवेदन समेत दर्ता गर्न नमानेको लगायत कार्यपालिका सदस्यको उपेक्षा गरिएको भन्दै उनले विरोध जनाएका छन्।
बिहीवार उपमहानगरपालिकामा विजयी एमालेका ५४ जना नगरसभा सदस्यहरु सहितको बैठकले स्थानीय सरकार संचालन ऐन संचालन सम्बन्धी बैठक कार्यविधि संसोधनका लागि ५४ जना नगरसभाका सदस्यहरुले दर्ता गराउनका लागि निवेदन दिँदा समेत मेयर मिना कुमारी लामाले दर्ता गर्न अस्वीकार गरेको एमालेको आरोप छ। आजको नगरसभाको बैठकमा कार्यपालिका सदस्यहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न नमान्दा बैठक अनिश्चित बनेको हो।
१४ नम्बर वडाका अध्यक्ष दिपक खड्का अनुसार अहिले बैठक संचालनका लागि वार्ता भइरहेको छ। सहमति हुने बित्तिकै नगरसभाको बैठक सुरु हुने उनले बताए।
वाग्मती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। अनुमान गरिएको खर्च ब्यहोर्न आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख हुने गरि तयार गरिएको बताइएको छ।