PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एमालेको बहिष्कारपछि हेटौंडा उपमहानगरमा पेस भएन बजेट, नगरसभा असार १२ गतेलाई सर्‍यो



निशा गुरुङ

एमालेको बहिष्कारपछि हेटौंडा उपमहानगरमा पेस भएन बजेट, नगरसभा असार १२ गतेलाई सर्‍यो

हेटौंडा : नेकपा एमाले अनुपस्थित भएपछि हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा असार १२ गतेसम्मका लागि सरेको छ। आज बिहान १० बजेको लागि बोलाइएको नगरसभामा एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि अनुपस्थित भएपछि असार १२ गतेको लागि सारिएको हो।

कार्यपालिका सदसयहरुसँग कुनै पनि छलफल नगरिकन बजेट निर्माण गरिएको, विषयगत समितिमा छलफल नगरिएको, कार्यपालिका बैठकबाट पास नगरिएको, चुनावका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको आरोप एमालेको छ। यस्तै, बैठकको कार्यविधि संसोधन गर्न मेयर मीना लामालाई निवेदन समेत दर्ता गर्न नमानेको भन्दै एमालेका कार्यपालिका सदस्यहरु विरोधमा उत्रेका हुन्।

हेटौंडा उपमहानगरपालिकामा एमालेको बहुमत छ। बैठक संचालन कार्यविधि संशोधनको माग राख्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनीधिहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा आजको नगरसभा संचालन हुन नसकेको हो। कूल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन्। एमालेबाट निर्वाचित बहुमत सदस्यहरु नगरसभामा नगएपछि कोरम पुग्न सकेन।

एमालेसँग वार्ता गर्न मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँ छलफलमा बसे पनि सहमति जुट्न सकेन र, नगरसभा सार्ने निर्णय गरिएको हो। बैठक सारिएपछि आज बजेट पेस पनि हुन सकेन।

असार ७ गते बसेको कार्यपालिका बैठकमा एमालेले बैठक संचालन कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो। प्रस्तावलाई मेयरसहित अन्य जनप्रतिनीधिले अस्विकार गरेपछि एमालेको बहुमत प्रतिनीधिहरु बैठकबाट बाहिरिएका थिए। एमालेले संशोधन गर्न गरेको प्रस्तावमा बैठकको निर्णय सामान्यतया सर्वसम्मतिबाट हुने भए पनि मत विभाजन हुने अवस्थामा बैठकमा बहुमत सदस्यको निर्णय मानिनुपर्ने उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell