
अफगानिस्तान पछिल्लो दुई दशककै सबैभन्दा विनाशकारी भूकम्पका कारण ठूलो संकटबाट गुज्रिरहेको छ। भूकम्पमा बाँचेकाहरूले उनीहरूसँग खानलाई केही नभएको, आश्रय नभएको तथा हैजाको प्रकोपको सम्भावना बढेको बताएका छन्।
बर्मल जिल्लामा बस्दै आएका अघा जानले भूकम्पमा परिवारसँगै सर्वस्व गुमाए। आफ्नो घरको बाँकी रहेको भग्नावशेषमा केही खोज्दै गर्दा जानका आँखा रसाउँछन्।
‘यी मेरा छोराहरूका जुत्ताहरू हुन्,’ धूलो टक्टकाउँदै उनी भन्छन्। भूकम्पमा उनका तीन छोराछोरी र दुई श्रीमती सुतेकै अवस्थामा मारिएका थिए। बुधबार बिहान भूकम्पको धक्का महसुस भएपछि उनी आफ्नो परिवार बसेको कोठातर्फ दौडिएका थिए।
‘तर, सबै भग्नावशेष मुनि परिसकेका थिए,’ उनले भने, ‘मेरो साबेल पनि। मैले केही गर्न सक्ने अवस्था थिएन। मैले मेरा भतिजाहरूलाई सहयोगको लागि बोलाएको थिएँ। तर, जब हामीले मेरो परिवारलाई बाहिर निकाल्यौँ, उनीहरू सबैको मृत्यु भइसकेको थियो।’
पक्तिका प्रान्तको जानको गाउँ वरपरको क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित मध्येको एक हो। जसमा झण्डै एक हजार मानिसको मृत्यु भएको र तीन हजारभन्दा बढी घाइते भएको अनुमान गरिएको छ।
नजिकको ठूलो शहरबाट यो क्षेत्रमा पुग्न करिब तीन घण्टा लाग्छ। त्यहाँ पुग्नको लागि प्रायः खराब बाटो भएर जानुपर्छ। दुर्गम स्थान भएकाले पनि घाइतेहरूलाई अस्पतालसम्म पुर्याउन अझ गाह्रो भएको स्थानीय बताउँछन्। कतिपयलाई तालिवानको सैन्य हेलिकप्टरबाटै अस्पताल लगिएको थियो।
माटो र ढुङ्गाबाट बनेका गाउँका प्रायः सबै घरहरु नराम्ररी क्षतिग्रस्त भएका छन्। त्यहाँ लगभग हरेक परिवार आफन्त गुमाएको शोकमा देखिन्छन्।
भूकम्पको खबर सुन्दा हबिब गुल छिमेकी देश पाकिस्तानको कराँचीमा मजदुरको रूपमा काम गर्दै थिए। उनी आफ्नो गाउँ बर्मल पुग्दा २० जना आफन्तहरुको मृत्यु भएको पाए। जसमध्ये १८ जनाले त एउटै घरमा ज्यान गुमाएका थिए।
‘म तपाईँलाई कसकसको नाम बताउँ? मेरा धेरै आफन्तहरू, तीन दिदीबहिनी, मेरी भान्जी, मेरी छोरी, साना केटाकेटीहरू सबैको मृत्यु भयो,’ उनी भन्छन्।
गाउँका सबैले मिडियालाई उनीहरूको घरको विनाश देखाउन चाहन्छन्। उनीहरू संसारलाई आफूहरुले भोगिरहनुपरेको संकट देखाउँदै सहायताका आश गरिरहेका छन्।
हबिब गुलले भने, ‘यदि संसारले हामीलाई दाजुभाइको रूपमा हेर्छ भने र हामीलाई मद्दत गर्छ भने, हामी हाम्रै भूमिमा बस्न पाउने थियौँ। यदि सहयोग गर्दैनन् भने हामी यो ठाउँ छोड्न बाध्य हुनेछौँ, जहाँ हामीले आँखामा आँसु लिएर लामो समय बिताएका छौँ।’
सैन्य हेलिकप्टरहरू संकटग्रस्त क्षेत्रको आकाशमा नघुम्ने होइनन्। तर, ति हेलिकप्टरहरूले अब घाइते पीडितहरू नभई आपूर्तिमात्रै ढुवानी गर्नेछन्। हाल उद्धार कार्य पूरा भएको र सकिएको तालिबान अधिकारीहरूले बताएका छन्। सो क्षेत्रमा अहिले सबैभन्दा ठूलो आवश्यकता भनेको घरविहीन भएका सयौँ परिवारहरूको लागि आश्रयस्थल हो।
अफगान तथा अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन् भने राहत वितरण गरिरहेका छन्। तर, अफ्गानिस्तानमा पहिले नै गम्भीर मानवीय संकट भएकाले पनि भूकम्पपछिको अवस्थालाई एक ठूलो र बढ्दो संकटको रुपमा लिइएको छ।
संयुक्त राष्ट्र संघले अहिले पीडितहरूलाई सहयोग गरिरहेको छ भने सम्भावित हैजा प्रकोपको जोखिमको चेतावनी पनि दिइरहेको छ। तालिवानले पनि सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपील गरिरहेको छ।