PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

राष्ट्रियसभामा तीन विधेयक टेबुल, सांसदले उठाए विवाहको उमेर हददेखि नागरिकता विधेयकको मुद्दा



पहिलोपोस्ट

राष्ट्रियसभामा तीन विधेयक टेबुल, सांसदले उठाए विवाहको उमेर हददेखि नागरिकता विधेयकको मुद्दा

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक टेबुल भएका छन्। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, २०७९’, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औँ संशोधन), २०७९ पेस गरेका हुन्।

त्यस्तै, बैठकले ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले गरेको भएको छ। उक्त विधेयक स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले पेश गरेका थिए।

बैठकमा ‘रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेश गरेका थिए।

नागरिकता विधेयक अघि बढाउन माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरि प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेका छन्। सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरि विधेयक अघि बढाउन सरकारसँग आग्रह गरेका हुन्। उनले भने, ‘संविधानमा भएको व्यवस्था बाझिने गरि कानुन बनाउनु हुँदैन।’

सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुनेगरी बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गरे। उनले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गर्दै ढिलै भए पनि गृहमन्त्रालयले यस सम्बन्धमा पहल गरेकामा सरकारलाई धन्यवाद दिएका थिए।

सांसद बिना पोखरेलले मनसुनी विपद्बाट हुने सम्भावित क्षति रोक्न बेलैमा तयारी थाल्न सरकारसँग आग्रह गर्दै मूल्य वृद्धि भएकोतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका थिए। उनले रसायनिक मलको कमी देखिएको वर्तमान अवस्थामा किसानलाई प्रोत्साहन गर्न तथा कृषि उत्पादन बढाउन सरकारले बेलैमा मलको आपूर्ति गरि वितरणका लागि सहज अवस्था निर्माण गर्नसमेत आग्रह गरे।

सांसद राजेन्द्रलक्ष्मी गैरेले उच्च मूल्यवृद्धिले जनतालाई समस्या बनाएकाले समाधानका उपाय पहिल्याउन सरकारसँग आग्रह गरेकी थिइन। उनले आमाको नामबाट नागरिकता दिन सकिने कुरा कानुन नबनेका कारण समस्या उत्पन्न भएको जनाउँदै नागरिकतासम्बन्धी संविधानको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न माग गरिन्। 

सांसद सुरेशकुमार आलेमगरले नागरिकसम्बन्धी विषय संवेदनशील विषय भएकाले यसमा सबै दलबिच सहमति गरि शीघ्र कानुन निर्माणमा जुट्नुपर्ने धारणा व्यक्त गरे। उनले संविधानमा व्यवस्था भएको आमाको नामबाट नागरिकता दिने विषय कार्यान्वयनमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद डा विमला राई पौड्यालले शारीरिक र मानसिकरुपमा स्वास्थ्य हुन विवाह गर्ने उपयुक्त उमेर २० वर्ष उपयुक्त हुने जनाउँदै यसलाई घटाउन नहुने धारणा व्यक्त गरेकी थिइन्। सांसद नरबहादुर विष्टले रसायनिक मलको आयात सहज गरी आपूर्ति गर्न सरकारसँग जवाफ माग गरेका थिए।

सांसद देवेन्द्र दाहालले समान दृष्टिकोणका आधारमा मित्र राष्ट्रसँग सम्बन्ध राख्नुपर्ने धारणा व्यक्त गरेका थिए भने सांसद प्रकाश पन्थले तनहुँमा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास अस्पतालले जनशक्तिको अभावमा उचित सेवा प्रवाह गर्न नसकेको उल्लेख गर्दै प्रतिष्ठित प्रतिष्ठान बनाउने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए।

राष्ट्रियसभाको अर्को बैठक यही असार १२ आइतबार ११ बजेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell