PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

सांसद पौड्यालको प्रश्न : प्रजनन स्वास्थ्यमा को कतिबेला परिपक्व हुन्छ भन्ने कानुनमन्त्रीले जान्ने कि डाक्टरले?



पहिलोपोस्ट

सांसद पौड्यालको प्रश्न : प्रजनन स्वास्थ्यमा को कतिबेला परिपक्व हुन्छ भन्ने कानुनमन्त्रीले जान्ने कि डाक्टरले?

काठमाडौं : राष्ट्रिय सभाकी सांसद डा विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताएकी छिन्। शुक्रवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा सांसद पौड्यालले महिलाको विवाह गर्ने उमेर १८ वर्षमा झार्नु अनुपयुक्त भएको बताएकी हुन्।

उनले शारीरिक, मानसिक र परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने उचित समय २० वर्षदेखि ३० वर्ष भएकाले नेपालमा विवाहको उमेर २० वर्ष बनाइएको उल्लेख गरिन्। महिलाको विवाह गर्ने उमेर २० वर्ष पुर्‍याइएसँगै नेपालमा मातृ मृत्युदर घटेको पनि उनले बताइन्।

सांसद पौड्यालले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले विवाह गर्ने उमेर घटाउनका लागि पैरवी गरिरहेको भन्दै त्यसप्रति आपत्ति प्रकट गरिन्। उनले महिलाको विवाहयोग्य उमेरको सम्बन्धमा राष्ट्रिय वहस हुनुपर्ने बताइन्। उनले कानुनमन्त्रीलाई महिलाको स्वास्थ्य र जीवनप्रति खेलवाड गर्ने अधिकार नभएको बताइन्।

उनले भनिन्, ‘६ महिनाको लागि मन्त्री भएर आएर वर्षौंदेखिको हामीले लगानी गरेर, हामीले उपलब्धि गरेको महिलाको स्वास्थ्य, महिलाको जीवनप्रति खेलवाड गर्ने अधिकार कानुनमन्त्रीलाई छैन।’

उनले अगाडि भनिन्, ‘हाम्रा कानुनमन्त्रीले के भन्नुभयो भने यो वैज्ञानिक छैन। किन वैज्ञानिक छैन? उहाँको उत्तर के थियो? १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्न पाउँछ। त्यसैकारण १८ वर्षमा विवाह गर्न पाउनुपर्छ। यही हो वैज्ञानिक? विवाह गर्ने उमेर भनेको प्रजनन स्वास्थ्यको उमेर हो। प्रजनन स्वास्थ्यमा को कतिबेला परिपक्व हुन्छ भन्नेकुरो कानुनमन्त्रीले जान्ने कि स्वास्थ्य पढ्ने डाक्टरहरुले जान्ने हो?’

उनले दिगो विकास लक्ष्यमा नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदर घटाएर १ लाखमा ७० जना महिलाभन्दा कममा लैजाने प्रतिवद्धता गरिएको भन्दै यसका लागि विवाह गर्ने उमेर बढाएर २० वर्ष पुर्‍याइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell