PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

ओलीको आरोप : प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भयो



पहिलोपोस्ट

ओलीको आरोप : प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भयो
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताए।

शुक्रवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गरे। पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्कासन गरेपनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दावी थियो।

उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन। प्रचण्डसँग त एकता नै गरिएको हो। तर, प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन। एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन। र, बेईमानपूर्ण ढंगले हट्नु भयो। एकताको निम्ति बनाईदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्कासन गर्नु भयो। पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो? तपाईहरु आफै विचार गर्नुस्। पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनु भयो उनले। र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो उहाँहरुले। यो बडो दुःखद् कुरा थियो।’

चरम सत्ताको दूरुपयोग हुँदा स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परेपनि आगामी दिनमा जित सुनिश्चित रहेको ओलीले दावी गरे। पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उनले दोहोर्‍याए। अध्यक्ष ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफ्नो पार्टीसँग मात्रै रहेको जिकिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell