PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट, यी हुन् प्राथमिकताका क्षेत्र



पहिलोपोस्ट

बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट, यी हुन् प्राथमिकताका क्षेत्र

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। शुक्रबार नगर सभामा उपमहानरका उपप्रमुख सावित्रादेवी अर्यालले बजेट पेश गरेकी हुन्।

बजेटमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत प्राप्त हुने एक करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान एक करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान २ करोड ९९ लाख स्रोत रहेको छ ।

यस्तै, राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख रुपैयाँलाई स्रोत मानिएको छ।

सभामा बजेट पेश गर्दै उपप्रमुख अर्यालले उपमहानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रम पनि घोषणा गरेकी छिन्।

बुटवल उपमहानगरले उपलब्ध स्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ।

यस्ता छन् बजेटका प्राथमिकता

यसपटक वडास्तरबाट परिचालन हुने बजेटको सीमालाई बढाएर १६ करोड ५० लाख पुर्‍याएको छ। बजेटले राजस्वको दर वृद्धि नगरी करमा छुट समेत दिएको छ।

उपमहानगरपालिकाले सम्पत्ति कर, बहाल कर, हाटबजार बैठकी, इरिक्सा नवीकरण/रुट इजाजत जस्ता कर तथा गैर करका दरहरु कम्तीमा १० प्रतिशतसम्म न्यून गरेको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर शुल्क बुझाउने करदातालाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।

यस्तै सम्पत्ति कर र भूमिकर २०७९ कात्तिक मसान्तसम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने, पेशा व्यवसाय कर र घरबहाल करमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था बजेटमा गरिएको छ। नवीकरण गर्न छुटेका व्यवसायहरुको नवीकरण गर्दा अगाडिको कर तथा जरिवानामा समेत छुट दिने बजेट वक्तव्यमा उल्लेख छ।

यस्तै, राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारका क्रममा व्यवसाय सञ्चालन हुन नसकेर मर्कामा परेका राजमार्ग मोहडाका सटरका व्यवसायीहरुलाई व्यवसाय करमा थप ३५ प्रतिशत छुट उपमहानगरले दिने भएको छ।

बुटवलले बजेटमार्फत जनतासँग प्रमुख, नगर प्रमुख ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, क्षयरोगमुक्त अभियान, स्वस्थ जीवनशैलीका लागि योग, नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने अवधारणा कार्यान्वयन गर्ने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ। स्वच्छ खानेपानी, फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, शैक्षिक गुणस्तर सुधारजस्ता कार्यक्रम बजेटमा परेका छन्।

यस्तै, प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी, कृषि, पशुविकास, श्रम रोजगारी, वन वातावरण, सहकारी प्रवर्द्धन, पर्यटन विकास, छाडा चौपाया नियन्त्रण, रोजगारी सिर्जना जस्ता कार्यक्रमले पनि बजेटमा प्राथमिकता पाएका छन्।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पतालका लागि बजेट परेको छ।

यस्तै आयुर्वेदिक अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधि वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु, आमा र बालबालिकाको पोषणलक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिने भएको छ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा तहको प्यारामेडिकलका विषय अध्यापन गराउन प्रक्रिया अघि बढाउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको अध्ययनका लागि पहल गर्ने, अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनका लागि पहल गर्न बजेट छुट्याइएको छ।

माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब स्थापना गर्ने, सामुदायिक विद्यालयहरुको एकीकृत वेबसाइट निर्माण गर्ने, नगरभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क सेनिटरी प्याड वितरण गर्ने नीति नगरले अघि सारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell