
काठमाडौं : सन् १९७० को दशक। चीनमा सांस्कृतिक क्रान्ति सकिएको थियो। राजा महेन्द्रको जन्मोत्सवको अवसर पारेर चिनियाँ पिङपङ टिम(टेबल टेनिस) नेपाल आयो। त्यतिबेला १८ वर्षका थिए कल्याणराज पाण्डे। टेबल टेनिसमा भर्खरभर्खर पहिचान खोज्दै गरेका युवा।
चिनियाँ टोलीमा ४/५ जना पुरुष र २/३ जना महिला खेलाडी र अफिसियल्स भएको पाण्डे सम्झन्छन्। त्यसमध्ये एकजना तीन पटकसम्म विश्व च्याम्पियन रहिसकेका खेलाडी पनि मैत्रीपूर्ण खेलका लागि आएका थिए। उनको नाम थियो चाङ से तुङ। 'त्यो बेला त्यही नाम थियो, पछि उहाँलाई फरक नामले पनि चिनियो,' पाण्डे सम्झन्छन्।
त्यतिबेला चिनियाँ खेलाडी र नेपाली खेलाडीको बीचमा एउटा मैत्रीपूर्ण खेल भएको थियो। त्यसमा नेपाली सिनियर खेलाडीले खेलेका थिए। त्यसमा जुनियर खेलाडीका रुपमा पाण्डेले पनि अवसर पाए। खेलतालिका आउँदा त झस्किने किसिमको आयो। उनको पहिलो खेल नै परेछ चाङ से तुङसँग। एकातर्फ टेबल टेनिसमा बामे सर्दै गरेको युवा ठिटो, अर्कोतर्फ तीन पटकको विश्वविजेता। खेल थियो राष्ट्रिय सभागृहमा।
'फिक्सचर्स बनाउँदा मेरो पहिलो म्याच नै तीन पटक विश्व च्याम्पियन रहेका से तुङसँग खेल्नुपर्ने भयो। हामी माथि स्टेजमा खेल खेल्थ्यौ। तल दर्शकवर्ग हुनुहुन्थ्यो,' माहोल सम्झिँदा पाण्डे उत्साहित हुँदै गए, 'त्यो खेलमा कसैले संयोगवश पनि भन्छन् तर मचाहीँ मैले जितेको नै भन्छु।'
उसो त पाण्डेलाई त्यसअघिका कुनकुन खेल खेलेको याद छैन। उमेरले ७० वर्ष पुगेका उनी रिटायर्ड जीवन बिताइरहेका छन्। उनको मानसपटलमा स्पस्ट थाहा भएको ठूलो प्रतियोगिताको ठूलो खेल यही हो। किनभने उनको यो खेल गौरवको विषय बन्यो।
'पहिलो सेट २०/२० भयो। २१ मा गेम हुन्थ्यो। बराबर भएपछि दुई प्वाइन्ट लिनुपर्थ्यो। २०/२० भएपछि मैले अग्रता लिएँ। अब एक प्वाइन्ट बाँकी रह्यो,' खेलको त्यतिबेलाको माहोललाई उनी सम्झन्छन्, 'त्यसबेला उसको हातमा सर्भिस थियो, म अझै सम्झन्छु।'
उतिबेलाको मनोविज्ञान पनि उनलाई प्रस्ट याद छ। भन्छन् : मैले यो खेल जित्ने हो भने सट नहानी हुँदैन, एकसट हान्छु, लागे जित्छु, नलागे जित्दिनँ। मिलाएर सट हानेको। तीन पटकको विश्वविजेतालाई जित्ने अवसर पाएँ।
त्यसपछिको सेटमा भने एकपटक १० मा र एकपटक ८ मा पराजित भएको उनी बताउँछन्। उनको पराजय स्वभाविक थियो। तर, उनले कुनै पनि सेट जित्लान् भनेर सायद कसैले सोचेकै पो थिएन कि?
'त्यही पनि एउटा सेट म्याच जित्दा पनि नेपाल तथा विदेशमा नाम आउँदा दंगदास बनेको थिए। टेबल टेनिस खेल्यो भने केही गरिने रहेछ भन्ने प्रोत्साहन मिल्यो त्यसपछि म टेबल टेनिसमा लागे। पाँच/छ वर्षको समयमा विभिन्न देशमा गएर विभिन्न प्रतियोगिता खेलेँ,' उनले भने।
त्यसपछि लगत्तै उनी मैत्रीपूर्ण खेलका लागि चीन गए। त्यो म्याचपछि सन् १९७१ मा चीनले मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दियो। 'त्यसमा जनरल नर शमसेरको नेतृत्वमा हामी ८/१० जना बेइजिङ गएका थियौं। त्यसपछि भने राष्ट्रिय टोलीमा नियमित परिरहेँ,' उनी सम्झन्छन्।
चाङ से तुङ्ग र बालकृष्ण सुवालसँग पाण्डे।
त्यसपछि राष्ट्रिय टिममा नियमित परिरहेका उनले विभिन्न देशमा प्रतियोगिता खेल्न गइरहे। कलकत्तामा भएको विश्व च्याम्पियनसिप, तेहरानमा भएको एसियन च्याम्पियनसीप, बेइजिङमा भएको एफ्रोएसियन र ल्याटिन अमेरिकन प्रतियोगिता। यस्तै खेल प्रतियोगिता खेल्ने अवसर जुरिरह्यो।
***
पाण्डेलाई कुन उमेरबाट खेल्न सुरु गरेको हो, याद छैन। पहिलो प्रतियोगिता कुन हो?, पनि सम्झनामा छैन। अझ चाङसँग खेलेको नै कहिले हो जस्तो लाग्छ। 'मैले ब्वाइज सिंगलबाट सुरु गरेको हो। एकडेढ वर्ष खेलेपछि नेसनलमा आएको हो,' उनी यति चाहीँ भन्न सक्छन्।
उनलाई १९७० को दशकमा खेलेको याद छ। अन्तिम प्रतियोगिता भने नाइजेरियामा सन् १९७५ मा खेले उनले।
'१९७५ मा नाइजेरियामा अन्तिम खेल खेलेँ। त्यसपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय म्याचबाट छाडेर करियर बनाउनतिर लागेँ। ६ वर्षभन्दा बढी खेलिनँ,' उनी भन्छन्।
मात्र छ वर्षको करियर?
करियर छोटो हुनुका पछाडि उनीसँग धेरै कारण छन्। सबैभन्दा महत्वपूर्ण भनेको त्यतिबेला खेल्ने भनेको प्रतिष्ठका लागि, देश विदेश देख्नका लागि र शोखका लागि थियो। खेलकुदमा करियर बनाउँला भन्ने थिएन।
'स्पोर्टसमा करियर अहिले पनि छ र? भन्छु। त्यो बेला त झन केही हुने कुरै भएन। खेलकुदमा चार्म भनेको विदेश जान पाइन्छ भन्ने हो,' उनी भन्छन्, 'अर्को आफूलाई खेल्न मन लागेर हो। खेलेर करियर बनाउँछु, यसो गर्छु उसो गर्छु भन्ने सोच समेत आउँदैन थियो। आफूलाई मन लाग्ने खेल भएर खेलियो। त्यति नै हो।'
त्यसबाहेक भनेको उनलाई आफ्नो पढाइ र करियरलाई पनि सँगसँगै अघि बढाउनुपर्ने थियो। चीनबाट प्रशिक्षक आउँथे। र, खेलको अभ्यासमा दिन जान्थ्यो।
'त्यतिबेला टेबल टेनिस खेल्ने भन्ने कुरा बिहानदेखि बेलुकासम्म समय चाहिन्थ्यो। बिहान ३/४ घण्टा अभ्यास हुन्थ्यो। चीनबाट प्रशिक्षकहरु आउनु हुन्थ्यो,' उनी सम्झन्छन्, 'बिहान ६ बजे रंगशाला पुगेर १०/११ बजेसम्म अभ्यास चल्थ्यो। बेलुका पनि ३/४ बजेदेखि ६/७ बजेसम्म अभ्यास।'
खेलमा धेरै समय छुट्याउनु पर्दा उनको अध्ययन करिब ब्रेक लाग्ने अवस्थामा पुग्यो। अर्को कुरा भनेको खेल्दाखेल्दै उनले जागिर पाए। तर, त्यसमा धेरै समय चाहिन्थ्यो। 'त्यसले गर्दा टेबल टेनिसतर्फ भन्दा पनि करियरतर्फ र पढाइतर्फ लाग्छु भनेर खेल्न छाडेँ,' उनी सुनाउँछन्, 'त्यतिबेला बिकम गर्दै थिएँ। एग्रिकल्चर सर्भिस सेन्टरमा जब पाएको थिएँ।'
टेबल टेनिसमा खेलाडीका रुपमा फर्कन मन लाग्नेभन्दा पनि शोखले खेल्न उनलाई मन लाग्ने तर सक्रिय भएर लाग्ने अवस्था भने थिएन। बिकस र एमकम गरेपछि फुलटाइम अफिस भयो। देशविदेश गरिहरनु पर्यो। खेल्न छुट्यो।
कृषि आयोजना सेवा केन्द्रमा १८ वर्ष काम गरेपछि यूएनडीपीमा रहेर विभिन्न अन्तर्राष्ट्रिय प्रोजेक्टहरुमा काम गरे। त्यसक्रममा विभिन्न देशहरुमा रहे।
हाल रिटायर जीवनमा उनी फेरि नजिकिँदैछन् टेबल टेनिसतर्फ। उनले आफ्नो नाममा हरेक वर्ष कल्याण पाण्डे जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका लागि टेबल टेनिस संघसँग सम्झौता गरेका छन्। जसअन्तर्गत पाण्डे परिवारले संघलाई ६ लाख रुपैयाँ दिनेछ। र, त्यसबाट आउने वार्षिक ७० हजार रुपैयाँमा संघले प्रतियोगिता गराउने छ। पहिलो वर्ष ब्याज नआउने भएकाले ७० हजार रुपैयाँ पाण्डेले संघलाई प्रदान गर्नेछन्।
'राष्ट्रिय टोलीबाट खेल्ने मौका र अनुभव पाएकाले अहिले आएर टेबल टेनिसमा सानो योगदान गर्ने अवसर पाएको छु,' उनी भन्छन्।
***
उनी त्यतिबेला टेबल टेनिसमा चीनले ठूलो सहयोग गरेको सम्झन्छन्।
'त्यो बेलाको चीन र अहिलेको चीन धेरै फरक छ। त्यो बेलाको चीनको अनुभव भनेको त्यहाँको राजनीतिक तहबाट नै हामीलाई ग्रिटिङ्सहरु हुन्थ्यो,' उनी सम्झन्छन्, 'मसँग अहिले पनि फोटो छ, एसियन अफ्रिकन ल्याटिन अमेरिकन च्याम्पियनसिप खेल्न गएको थियौं। बेइजिङमा। त्यो बेला ग्रेट हल अफ चाइना भन्ने सुन्नु भएको होला त्यहाँ बेङक्वेट हल थियो। त्यहाँ स्टेट अनर गरेर डिनरहरु दिन्थ्यो। नेपाली टिम गएको बेला चीनका प्रधानमन्त्री चाउवेलाईसँग बसेर फोटो खिच्ने अवसर मिलेको थियो। त्यो फोटो अझै पनि छ।'
नेपालमा टेबल टेनिसको विकासका लागि चीनको ठूलो सहयोग रहेको उनको बुझाइ थियो।
'त्यतिबेला चीन यति जेनेरसन थियो कि नेपाली टीमलाई बोलाउँथ्यो र पैसा टिकट सबै उसले दिएर। त्यहाँ उनीहरुसँग मैत्रीपूर्ण खेल खेल्थ्यौं। र, उनीहरु सँगै चार्टर्ड प्लेनमा प्रतियोगिता खेल्न कुनदेश जानुपर्ने हो, त्यहाँ जान्थ्यौं,' उनी भन्छ्न, 'नेपालको टेबल टेनिसलाई माथि उठाउन चीनको ठूलो योगदान छ। त्यतिबेला नगरेको भए यतिबेला यो खेल यतिको विकास हुँदैन थियो। कोच आएर वर्षौसम्म ट्रेनिङ दिन्थे।'
मैत्रीपूर्ण खेलका लागि चीन पुगेको बेला चीनका प्रधानमन्त्री चाउ वे लाईसँगै नेपाली टोली।
नेपालको टेबल टेनिसको सन्दर्भमा पनि धेरै परिवर्तन भएको उनी पाउँछन्। त्यतिबेलाको भन्दा खेलाडीको स्तर अहिले बढेको पाएको उनले सुनाए।
'अहिलेका खेलाडीभन्दा धेरै फास्ट छन्। म अस्ति एकपटक एउटा च्याम्पियनसिप हेर्न गएको थिएँ, सानासाना भाइबहिनीहरु हामीभन्दा पनि राम्रो खेल्ने भएर आइसकेका रहेछन्,' उनी भन्छन्, 'तलबाट आएर खेल्न थाल्या छन्, त्यसले गर्दाखेरी नेसनल लेभल पनि राम्रो भएको छ। त्यो बेला जित्ने भनेको त चानचुने देशहरुलाई मात्र हो। मेडल लिने त मौकै थिएन।'
उनले अगाडि सुनाए : म जुनियर भए पनि मभन्दा सिनियर लेभलका खेलाडी पनि हुनुहुन्थ्यो। वहाँहरुको खेल र अहिलेको खेल तुलना गर्ने हो भने अहिलेको खेल धेरै फास्ट छ। त्यतिबेला ट्वाकट्वाक हुन्थ्यो। आजकल डड्याङडड्याङ खेल हुन्छ।