PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गर्भपतन गर्न नपाउँदा शिशुको मुटुको धड्कन रोकिने प्रतिक्षामा रहेका छन् यी दम्पत्ति



पहिलोपोस्ट

गर्भपतन गर्न नपाउँदा शिशुको मुटुको धड्कन रोकिने प्रतिक्षामा रहेका छन् यी दम्पत्ति
Photo : JAY WEELDREYER

एन्ड्रिया र जेका लागि परिस्थिति यति जटिल बनिदियो कि जुन उनीहरूको कल्पनाभन्दा निकै पर छ। शिशु गर्भमा छँदा अभिभावकहरू आफ्नो बच्चा स्वस्थ होस् भनेर भगवानसँग प्राथना गर्छन्। तर एन्ड्रिया र जेको सन्दर्भमा भने ठिक विपरित भइदियो।

जुन शिशुको धड्कन चलोस् भनेर प्राथना गर्नुपर्ने थियो, सोही शिशुको धड्कन रोक्नको लागि भगवानसँग प्राथना गर्नुपरेको छ उनीहरूले। कारण: गर्भवती एन्ड्रिया घातक संक्रमणसँग लडिरहेकी छिन्। संक्रमणले आमा र बच्चा दुवैको लागि खतरा बढाउँदैछ।

अमेरिकाका एन्ड्रिया प्रुडेन्टे र उनका श्रीमान् जे वेल्डरेयर बिदा मनाउन युरोपेली देश माल्टा पुगेका थिए। त्यतिबेला एन्ड्रिया गर्भवती भएको १६ हप्ता भएको थियो। सोही क्रममा उनको रगत बग्न थाल्यो। उनको शरीरमा रहेको ‘प्लेसेन्टा’ (गर्भनाल)को केही भाग पाठेघरबाट अलग भएको थियो।

यस्तो अवस्थामा उनको लागि गर्भधारण गरिराख्न निकै खतरा भएको डाक्टरले सुझाएका थिए। तर त्यतिबेलासम्म शिशुको मुटुको धड्कन चल्न सुरु भइसकेको थियो। जसकारण डाक्टरहरूले कानुनी रूपमा एन्ड्रियाको गर्भपतन गरेनन्। किनकी माल्टामा गर्भपतन कानुन विपरित छ।

एन्ड्रिया र जे गत हप्तादेखि माल्टाको एक अस्पतालमा छन्। ‘अस्पतालले हामीलाई सहयोग गर्छ भन्ने सोचेर हामी यहाँ बसिरहेका छौं। यदि बच्चाको मुटुको धड्कन बन्द भयो भने अस्पतालले सहयोग गर्न सक्छ। अरू त अस्पतालले केही गर्न सक्दैन्’, जेले भने।

उनी  अहिले  जति असन्तुष्ट छन् त्यति नै क्रोधित पनि छन्। किनभने उनलाई थाहा छ, एन्ड्रियाको अवस्था कुनै पनि समयमा बिग्रनसक्छ। ‘एन्ड्रियालाई अत्याधिक रक्तश्राव भइरहेको छ। उनको पाठेघरबाट प्लेसेन्टा अलग हुँदैछ। झिल्ली पूर्ण रूपमा च्यातिएको छ र बच्चालाई आमासँग जोड्ने प्लेसेन्टा अब पाठेघरबाट बाहिर छ। एन्ड्रियामा संक्रमणबाट गम्भीर खतरा उत्पन्न भएको छ, तर यसलाई रोक्न सकिन्छ,’ उनले सुनाएँ।

गर्भमा रहेकी छोरीलाई कुनै पनि हालतमा बचाउन नसकिने उनको भनाई छ।

‘छोरीलाई बचाउन असम्भव छ र जुन कुरालाई कुनै पनि हालतमा बदल्न सकिँदैन। तर म एन्ड्रियालाई धेरै माया गर्छु। म उसलाई बचाउन चाहन्छु तर यो हुन सक्दैन,’ उनले भने,‘हामी यस्तो अवस्थामा छौ कि एकातिर हामीले नजन्मिएकी छोरी गुमाइरहेका छौँ र अर्कोतर्फ अस्पतालले उपचारमा ढिलाइ गरिरहेको छ, जसले एन्ड्रियालाई संक्रमणको जोखिम बढाएको छ।’

तर पनि उनको आशा मरेको छैन। उनी चाहन्छन् कि श्रीमतीलाई आकस्मिक उपचारका लागि बेलायत लगियोस् जसको खर्च उनको ट्राभल कम्पनीले उठाओस्। सन् २०१७ ताका पनि यस्तै घटना भएको थियो। एक पर्यटकलाई आपतकालिन गर्भपतनको लागि फ्रान्स लगिएको थियो। तर माल्टाका महिलाहरूलाई भने यो सुविधा उपलब्ध छैन।

माल्टामा गर्भपतनमाथि रोक

माल्टा एउटा यस्तो टापु हो जहाँ युरोपको सबैभन्दा कडा गर्भपतन कानुन छ। यहाँ गर्भपतन पूर्णतया गैरकानूनी छ। यस्तो कानुनविरूद्ध लारा दिमित्रिजेविच लामो समयदेखि लडिरहेकी छिन्। माल्टाकी डाक्टर लारा पेशाले वकिल हुन्। संस्था फाउण्डेशन फर वुमन राइट्सकी अध्यक्ष पनि हुन् उनी जसले महिला अधिकारका लागि काम गर्छ।

‘यहाँ महिलाहरू यस विषयमा कमै बोल्छन्। डाक्टरहरूले पनि बच्चा प्राकृतिक रूपमा जन्माउनुपर्छ भन्ने विश्वास गर्छन्। तर सुत्केरी हुने क्रममा सेप्सिस वा गम्भीर रोग देखा पर्न सक्छ। त्यस्तो बेला पनि डाक्टरहरूले हस्तक्षेप गर्छन्,’ उनले भने।

उनका अनुसार प्रत्येक वर्ष औसतमा दुई/तीनवटा यस्ता घटनाहरू हुन्छन्। तर एन्ड्रियाले आफ्नो कथा सामाजिक सञ्जालमा सेयर गरेसँगै यस विषयमा धेरै महिलाहरू कुरा गरिरहेको उनले बताइन्।

‘यो कानून परिवर्तन गर्न आवश्यक छ। किनकि यस्ता कानूनले महिलाको स्वास्थ्यमा कठिनाइ मात्र होइन, महिला र उनको परिवारलाई पनि ठूलो मानसिक तनाव दिन्छ,’ लाराले भनिन्।

जे विगत छ दिनदेखि केहि अप्रिय घटना हुन सक्छ भन्ने डरमा बाँचिरहेका छन्। ‘अहिले अवस्था यस्तो छ कि हामी अब के हुन्छ भनेर सोचिरहेका छौं,’उनले सुनाए।

यो स्टोरी तयार गर्ने क्रममा माल्टा सरकार र अस्पताललाई पनि सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको प्राप्त भएको छैन। बीबीसीमा प्रकाशित स्टोरीको भावनुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell