कफी पसलमा गफिँदै गर्दा फोनको घन्टी बज्यो। किशोर दाइले फोन उठाए र सोधे – 'कति नम्बर रे?'
उताबाट केही जवाफ आयो।
'ल म आइहालेँ।'
किशोर दाइ उठेपछि म पनि सँगै तलतिर ओर्लिएँ। दुई तल्ला तल झरेर सडकमा पुगेपछि थोरै उत्तरतिर लाग्दा एउटा ट्याक्सी रोकिरहेको देखियो। त्यहाँ पुगेपछि योगेश दाइ ट्याक्सीबाट उत्रिँदै भने, 'चार सय रुपैयाँ दे त।'
किशोर दाइले खल्तीबाट पैसा निकालेर योगेश दाइको हातमा थमाए। योगेश दाइले ट्याक्सी चालकलाई। पैसा लिएपछि ट्याक्सी अगाडि बढ्यो। किशोर दाइ र योगेश दाइ अंकमाल गरे–यी दुई बुढाहरुको हर्कत पुरानै हो – जुन दरबारमार्गमा 'नविकरण'भएको थियो।
दरबारमार्गमा ट्राफिक प्रहरीको कार्यालयभन्दा ठीक पारीपट्टि देखिएको दृश्य मेरा लागि विशेष थियो। आज म नेपाली पत्रकारिताका यी दुई हस्तीसँगको 'गसिप'मा तपाईँहरुलाई सहभागी गराउँदैछु।
+++
कान्तिपुरको न्युज रुममा पुगेका योगेश उपाध्यायको फोटो सोसल मिडियामा आएपछि मलाई पनि भेट्ने रहर थियो। भेटको चाँजोपाँजो मिल्नुभन्दा केही दिन अघि नै किशोर दाइलाई भनेको थिएँ – योगेश दाइसँग भेट्न मन छ।
किशोर दाइले भनेका थिए - 'ए भेट भेट। भेट्न पर्छ।'
त्यसैबिच फेसबुकमा मेरा अर्का सम्पादक प्रशान्त अर्यालसँग योगेश दाइको फोटो देखेँ। प्रशान्त दाइलाई योगेश दाइको नम्बर माग्न फोन गरेँ। प्रशान्त दाइबाट तात्तातै नम्बर मिल्यो तर कल गर्न बाँकी नै थियो। ठीक त्यतिखेर नै हो किशोर दाइको फोन आएको।
'तँ कहाँ छस्?'
'म दरबारमार्ग मै।'
'मैले योगेशलाई कफी खान बोलाएको छु। तँ र म उसँग बसौं है।'
किशोर दाइको प्रस्तावमा नाई भन्नुपर्ने कारणै थिएन।
योगेश दाइ कान्तिपुरका संस्थापक सम्पादक। सुरुका सात वर्ष उनकै नेतृत्वमा कान्तिपुरले आफूलाई देशकै शक्तिशाली माध्यमका रुपमा स्थापित गरेको। २०४९ सालमा जन्मिएको हो कान्तिपुर। २०५१ सालमा प्रेस काउन्सिलले गरेको एउटा सर्वेक्षणमा दुई वर्षमै कान्तिपुरले धेरै जिल्लामा गोरखापत्रलाई पछि पारिसकेको तथ्य सार्वजनिक भएको थियो। हो, गोरखापत्रको लामो विरासतमाथि कान्तिपुरले व्यावसायिक आक्रमण गर्दा त्यसका नेता थिए योगेश दाइ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गोयन्का पब्लिकेसन्सले कान्तिपुर दर्ता गर्दा सम्पादकमा योगेश दाइकै नामसँगै प्रकाशित हुने न्युनतम पत्रिकाको संख्या किटानी गरिएको थियो – एक हजार प्रतिदिन। उल्लेखित अंकले कान्तिपुरको सम्भावना र जोखिम दुवैलाई तौलिएको थियो। तर, जित सम्भावनाकै भयो। नेपालको सन्दर्भमा व्यवसायिक पत्रकारिताको महत्वपूर्ण मोड मानिन्छ –कान्तिपुरको सुरुवात। एक हजार प्रति न्युनतम प्रकाशित गर्ने लक्ष्य लिएको पत्रिका सर्कुलेसनको दौडमा लामो समयदेखि शीर्ष स्थानबाट तल ओर्लिएको छैन।
सम्पादकमा योगेश नै रहँदा गोयन्का पब्लिकेसन कान्तिपुर पब्लिकेसनमा रुपान्तरित भयो।
कान्तिपुरका संस्थापक सम्पादक योगेश दाइसँग मेरो भेट भने स्पेसटाइम दैनिकमा भएको थियो दुई दशक अघि। योगेश दाइको ब्रोडसिटको दोस्रो इनिङ्स रहेको स्पेसटाइम इतिहासको पानामा मधुरो अक्षरमै बिलन भइसक्यो। एउटा सफल सम्पादकको दोस्रो इनिङ्स भने उपलब्धिपूर्ण रहेन, जसको म पनि साक्षी रहेँ।
+++
'आफूले सुरु गरेको कान्तिपुरको पछिल्लो भवनमा पुग्दा कस्तो अनुभूति भयो तपाईँलाई?'
'खासै त्यस्तो फिल भएन। तर त्यहाँबाट हेर्दा थापाथलीमा कान्तिपुर सुरु गरेको घर अहिले पनि जस्ताको त्यस्तै देखेँ। पुरानो समय याद आयो,' योगेश दाइले सुनाए।
'अहिले पनि स्पेसटाइम भइदिएको भए तपाईँ र हामी त्यसरी नै फोटो खिच्थ्यौं होला कान्तिपुरमा जस्तै,' मैले एउटा मृत भइसकेको परिकल्पना जोडेँ।
'ह्या मरिसकेको पत्रिका र मान्छेको कुरा नगर,' किशोर दाइले आफ्नो पुरानो शैलीमा हस्तक्षेप गरे।
'स्पेसटाइम जोइन् गर्नु मेरो गलत निर्णय थियो,' योगेश दाइ एकाएक गम्भीर सुनिए।
'म पनि झन्डै गइसकेको। योगेशको मुनि रहने गरि जान लागेको थिएँ तर यसले मलाई जोइन नगर्न सुझायो। धन्न म गइन्। बचेँ,' किशोर दाइले सुनाए।
समर्थनमा टाउको हल्लाउँदै योगेश दाइले संकेत गरे - हो।
'तर मैले त्यहाँ टेलिभिजनबारे चाहिँ गजबले सिक्न पाएँ,' योगेश दाइले च्यानल नेपालको सन्दर्भ जोड्दै जे भने त्यो उनी आफैँलाई दिएको सान्त्वनाको स्वर झै सुनिन्थ्यो।
योगेश दाइ सम्पादक रहेको स्पेसटाइम पत्रिकाका सञ्चालक जमीम शाह लाजिम्पाटको सडकमा गोलीको सिकार भए। सँगै उनको बिरासत र गिरिजाप्रसाद कोइरालाले दिएको 'मिडिया टाइकुन'को टाइटल पनि ढल्यो। त्यो मिडिया नै मर्यो जसमा मैले आफूलाई केही समय निखार्ने अवसर पाएको थिएँ।
+++
भारतबाट प्रकाशित हुने दी हिन्दुका संवाददाता योगेश उपाध्याय र भारतकै टाइम्स अफ इन्डिया ग्रुपको दिनमानका संवाददाता रहिसकेका किशोर नेपाल नेपाली पत्रकारिताका गजबका मियो हुन्। यी दुवैको लिडरसीपमा धेरै पत्रकार निखारिए – नेतृत्वमा पनि पुगे। नेपाली समाजमा यी दुवैलाई गजबले रुचाउनेहरु पनि छन्, उत्तिकै आलोचना गर्नेहरु पनि। किशोर दाइले सोसल मिडियामा केही लेख्न हुन्न आजकल – गालीको वर्षा भइहाल्छ। गाली खाने गरेर त नलेखे पनि हुन्थ्यो नि त! मान्दैनन् उनी।
'हामी त्यो बेला (पञ्चायतको अवधि)मा त डराएनौं भने अहिले किन डराउने?,' किशोर दाइको उल्टै प्रश्न आयो। योगेश दाइ पनि किशोर दाइकै भनाइमा सहमत सुनिए।
'न लेख्न डरायौं, न त दिएको पद नै स्वीकार्यौं। तँलाई र मलाई कमल थापाले लोभ्याएको होइन?,' योगेश दाइ बोले।
कमल थापा मन्त्री। उनले एउटा आयोगमा जागिरको अफर गरेका रहेछन् किशोर र योगेश दुवैलाई। थापाको उद्देश्य थियो – आगो ओकल्ने कलमको मसी सुकाउने। तर, दुवैले ठाडै नकारेका रहेछन् सरकारी पदमा बस्न। अहिले यस्ता पदका लागि 'बार्गेनिङ' गर्नेको जमातकै गुट र उपगुट छ पत्रकारितामा। कांग्रेस हुन् या कम्युनिस्ट – पत्रकारिता गरेबापत सुद सहित 'सरकारी पद'बाट असुल गर्ने 'धन्दा' मौलाएको छ।
'हामी दुवैले अस्वीकार गरेको हो त्यतिखेर,' किशोर दाइले सुनाए। किशोर दाइ पछि भने कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा उनका सल्लाहकार बने। नेपाल टेलिभिजनको अध्यक्ष पनि भए। गोरखापत्रको संवाददाताको पद छाडेर हिँडेका उनी पछि त्यहीँको सम्पादक र महाप्रवन्धक पनि बने र सरकारी पत्रिकालाई रंगीन बनाए।
'विवाद' किशोर दाइको ट्यागलाइन नै हो भन्दा हुन्छ। गोरखापत्रको 'मास्ट हेड' नै फेरेका थिए उनले। युवामञ्चलाई 'लोकसेवा तयारी गर्ने पत्रिका'बाट रंगीन बनाइदिए। युवामञ्चको बिक्री त बढ्यो, सम्पादकका हैसियतमा किशोर दाइमाथि 'अस्लिल बनायो' भन्दै कडाभन्दा कडा टिप्पणी पनि त्यही गतिमा भयो। त्यसैले आलोचनाका लागि 'स्पेस क्रियट' गर्नु उनको विशेषता रह्यो जहाँ गए पनि।
'यो जोसुकैलाई पनि जे लाग्यो ढ्याम्मै भन्दिहाल्ने,' मेरा दुवै सम्पादकका दौतरी प्राध्यापक विश्वम्भर प्याकुरेलले एक दिन सुनाएका थिए, 'किशोरले एक दिन नारायण गोपाललाई 'यस्तो नि गाउने हो' भन्दियो - किशोरले बोल्न थालेपछि नारायण गोपालले पनि 'के के भन्छ अब यसले' भन्दै तर्किन्थे।'
गीत लेख्ने प्याकुरेल, गाउने नारायण गोपाल र कलम चलाउने किशोर नेपाल – मदिरासँग मस्त रहन्थे रातभर। मस्त हुने टोलीमा योगेश पनि हुन्थे सँगसँगै। यस्ता दौतरी धरीलाई नछाड्ने किशोर दाइ अरुलाई किन छाड्थे?
'माओवादी जनसरकार'को स्थलगत रिपोर्टिङ गरेपछि किशोर दाइले खुशी भएर खाजा खुवाएका थिए मलाई।
'एक तिरले दुई सिकार गरिस् नि!,' किशोर दाइले भनेका थिए। माओवादीप्रति नकारात्मक टोन थियो उनको बोलीमा।
दैलेखका सडकमा खुलेका निम्नस्तरका दुकानमा धेरै संख्यामा लडाकु आए पैसा तिरेर खाने तर थोरै आउँदा नि:शुल्क खाने गरेको सन्दर्भ थियो समाचारमा। नि:शुल्क खाएको विषयले उनलाई छोएको थियो। तर, पछि मत अभिमत कार्यक्रम लिएर द्वन्द्वग्रस्त मुलुकलाई काँचका पर्दामा उतार्न थालेपछि किशोर दाइ अलिक धेरै माओवादीसँग प्रभावित भए। दमननाथ ढुंगाना माओवादीका सभामा भाषण नै गर्दै हिँडेका थिए भने कांग्रेसी पत्रकार भनेर चिनिएका किशोर दाइ उनीहरुप्रति सकारात्मक हुनु अनौठो थिएन। प्रचण्डप्रति किशोर दाइको प्रेम अझै छ – द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरणमा ल्याएको विषयलाई लिएर।
ठीक त्यही कालखण्डमा योगेश दाइ स्पेसटाइम दैनिकमा थिए। उनकै सम्पादकत्वमा निस्किएको पत्रिकाले माओवादी र प्रहरीको भिषण भिडन्तको समाचार संकलन गर्न हेलिकप्टर नै उडाएको थियो। त्यतिबेला मिडिया बिच होडबाजी नै थियो – कन्टेन्टमाथि खर्च गर्ने, जुन अहिले करिबकरिब 'मरिसकेको' छ।
+++
किशोर दाइ लेखनमा जति सक्रिय छन् त्यति छैनन् योगेश दाइ। उनी अमेरिका भासिए परिवारसहित। १४ वर्षपछि उनी काठमाडौं झरेका थिए यसपाला। त्यसै मेलोमा हाम्रो पनि पुनर्मिलन भएको थियो। पुनर्मिलन हुँदा रक्सीको सन्दर्भ नजोडिने कुरै थिएन – यी दुवै लुकेर पिउनेहरु पनि होइनन्। थाहा छैन - यिनीहरुले रक्सी पिए या रक्सीले यिनीहरुलाई? जहाँ यिनीहरु जम्थे, त्यहाँको माहौल नै रोमाञ्चक हुन्थ्यो।
'हामीले जति रक्सी खाए पनि हाम्रो लेखनीमा त्यो कहिल्यै आएन नि है?,' मदिरा जोडिएपछि किशोर दाइले योगेशतिर हेरेर बोले। समर्थनमा टाउको हल्लाए योगेश दाइले।
कफी पसलमा मदिरा पनि मिल्छ आजकल। तर, दुवै मदिरासँग दुरी राख्छन्। औषधीको टेकोले हो किशोर दाइलाई अझै सक्रिय गराइराखेको। योगेश दाइको पनि हालत उस्तै रहेछ। मदिराका पारखी भए पनि शरीरले साथ नदिएपछि सम्बन्ध कमजोर बन्दै रहेछ - मातसँगको। पिउनुभन्दा पिएको सम्झनुमा रमाएको देखेँ मैले।
'तँ र हामी रातरातसम्म साथै हुन्थ्यौं,' किशोर दाइले भने।
जवाफ फर्काए योगेश दाइले, 'अब ती कुरा के गर्नु। केके गरियो गरियो।'
मेरा यी दुवै सम्पादकले ७० वर्षे उमेर पार गरिसके। किशोर दाइको कलम अहिले पनि उत्तिकै धारिलो – आगो ओकल्ने। निबन्ध शिल्प उत्तिकै तेज। योगेश दाइ चाहिँ निक्कै मत्थर भइसकेका तर रहर मरिनसकेको।
'अब एकपटक फेरि केही गरौं पत्रकारितामै रहेर भन्ने छ,' दरबारमार्गबाट कोटेश्वरतिर लाग्दा योगेश दाइले रहर सुनाए।
'गर न। हामीले गर्ने भन्दा पनि संयोजन गरिदिने न हो अब,' किशोर दाइले हौस्याए।
अमेरिकामै रहेर नेपाली पत्रकारितामा केही गर्ने योगेश दाइको 'हुटहुटी' मेरा लागि पनि रोचक नै विषय हो। देश छोडेर टाढा पुगेपछि – यताको न्यास्रो बिछट्टै लाग्ने रहेछ। त्यसमाथि आफूलाई चिनाएको पेशाको माया किन नहुनु? योगेश दाइको रहर सुनेपछि मैले नेपाली पत्रकारितालाई अमेरिकामा रहेर केही गरौं भनिरहेका स्पेसटाइमकै पूर्व चिफ रिपोर्टर तरुण पौडेल अनि त्यहीँका सहकर्मी सुरेशचन्द्र पोखरेल, मुकेश बराल र सहपाठी नारायण श्रेष्ठलाई सम्झिएँ।
+++
ट्याक्सीमा दरबारमार्ग आएका योगेश दाइलाई किशोर दाइ र म उनको घर कोटेश्वरसम्म छोड्न पुग्यौं। बिदा हुने बेलामा योगेश दाइले केही सम्झिए र भने, 'ए तेरो ४ सय मैले तिर्नुछ।'
'ह्या के कुरा गर्या तैंले?,' किशोर दाइ कड्किए।
७० माथिका यी दुईले एक अर्कालाई 'तँ' भन्दै गरेको सम्बोधनले मेरा दुई सम्पादक बिचको प्रेम र सम्बन्धलाई चिनाइरहेको थियो।