PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

बिहारको वैशालीमा नेपाल - भारत सम्बन्धबारे बहस : बाहिरी शक्तिले नखेलोस्



राधेश्याम पटेल

बिहारको वैशालीमा नेपाल - भारत सम्बन्धबारे बहस : बाहिरी शक्तिले नखेलोस्

वीरगंज : भारत र नेपालका नेताहरुले बदलिँदो परिस्थितिमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाई राख्न गम्भीर हुन पर्ने बताएका छन्। भारतको विहारस्थित वैशाली जिल्लाको वैशाली गढमा मिडिया फर बोर्डर हार्मोनीले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा भारत नेपाल सम्बन्ध, चुनौती एवं निदान’ विषयक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्।

थाई अतिथि सदनमा शनिवार आयोजित कार्यक्रममा भारतका सांसद तथा पूर्व केन्द्रीय मन्त्री अखिलेशप्रसाद सिंहले भारतको १६ सय किलोमिटरभन्दा लामो नेपालसँगको खुल्ला सिमाना दुई देशविचको विशिष्ट तथा अभिन्न सम्बन्धको प्रमाणको रुपमा रहेको बताए। नेपालमा भारतको विरुद्धमा बाहिरी शक्तिहरुले खेल्न खोजे यहाँका जनताले त्यसलाई निरुत्साहित गर्ने गरेको उनले बताए। 'नेपाल र भारतको सिमामा कहिलेकाही असहज परिस्थिति आउने गरेको छ। त्यसलाई विवेकपूर्ण ढंगले समाधान गरिँदै आएको छ। दुई देशको सरकारस्तरको सम्बन्ध र जनताबीचको सम्बन्धमा बाहिरी शक्तिले नखेलोस्,' उनले भने।

भारतका अर्का सांसद अजय निषादले नेपाल र भारतको सम्बन्धलाई बलियो र प्रगाढ बनाईराख्न नागरिक समाजले अहम भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे। कार्यक्रममा नेपालबाट विशिष्ट अतिथि रहेका लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका संसदीय दलका नेता जितेन्द्र सोनलले नेपाल लामो संघर्षपछि संघीय लोकतान्त्रिक कायम भएकोमा यसले आफ्नो विकासको यात्रा हितैषी तथा शुभचिन्तक छिमेकी राष्ट्र भारतसँगको सहकार्यमा अगाडि बढाउन आवश्यक रहेको बताए।

प्रचीन कालदेखिको यो सम्बन्ध नयाँ र बदलिदो कालखण्डमा पनि अझ प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको उनको भनाई थियो।

कार्यक्रममा जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले माता जानकी र भगवान श्रीरामको कालदेखी चलिआएको सम्बन्ध जोगाउन दुई देशका नागरिकको साझा दायित्व रहेको बताए। वैशालीस्थित थाइ मन्दिरका प्रमुख डा. पिसी चन्द्राले दुई देशविचको सम्बन्ध बिश्वमैं विशिष्ठ रहेको र यस विषयमा आयोजित कार्यक्रममा सहभागी हुन पाउनु गर्वको विषय रहेको बताए। कार्यक्रममा भारतका विभिन्न पार्टीका विधानसभा सदस्यहरु, नेतागण, पत्रकार र नागरिक समाजका ब्यक्तिहरुको उपस्थिति रह्यो। कार्यक्रममा नेपालतर्फबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र होटेल तथा पर्यटन ब्यवसायी संघ, वीरगन्जका अध्यक्ष हरि पन्त नेपाल भारत मैत्री सम्मानबाट सम्मानित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell