
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन्। आइतवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।
उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको बताए। सभामुख सापकोटाले संसदमा नागरिकता विधेयक अड्किएर बसेकाले दर्जन भन्दा बढी ज्ञापनपत्र आउने गरेको बताए।
उनले नागरिकता विधेयक संसदबाट पास हुन नसक्दा युवाहरुले सुनौलो अवसर गुमाइरहेको बताए। उनले केही गर्छु भन्ने युवाहरुलाई नागरिकता दिन नसक्दा देशलाई ठूलो क्षति भएको भन्दै नागरिकता नपाएकालाई अन्याय भएको बताए। उनले बजेट अधिवेशनबाट नै ८ वटा प्रतिस्थापन विधेयक पास गर्नसके जनतामा सरकारले केही गर्दैछ भन्ने आशा लाग्ने दाबी गरे।
उनले भने,‘संसदमा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौँ डेलिकेशनहरु म भए ठाँउमा आएका छन्। अत्यन्तै, धेरै मार्मिक युवाहरु उमेर ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन्। अध्ययन गर्ने सुनौला अवसरहरु गुमिरहेका छन्। ठूलो क्षति भएको छ। असाध्यै धेरै अन्याय भइरहेको छ, भनेर मैले राजनीतिक पार्टीका नेताहरुसँग धेरै चरणमा कुरा गरको छु। प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ। त्यस्तै ८ वटा प्रतिस्थापन विधेयकहरु पनि पास गर्न सकिन्छ।’
सभामुख सापकोटाले देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताए। उनले आफू सधैँ आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको बताए।
सभामुख सापकोटाले भ्रष्टाचार भनेको कुनै बजेट वा आर्थिक सवालसँगको मात्रै कुरा नभई देश र राष्ट्रियतासँग जोडिएको विषय भएको बताए। उनले भ्रष्टाचार बढ्दै गए देशलाई कोल्याप्स पार्ने बताए।
सभामुख सापकोटाले सुशासन भ्रष्टाचार नियन्त्रण गुणस्तरीय कानुन निर्माण भएपनि ठिक ढङ्गले कार्यान्वयन नभएको भन्दै गुनासो गरे। उनले लोकतन्त्र भनेको जीवनधारा र लोकतन्त्रको आत्मा भनेको संसद रहेको बताउनु भयो। तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने एक मात्रै फोरम भने संघीय संसद रहेको उनले दावी गरे।
सभामुख सापकोटाले संसदले जनताका कुरालाई आत्मसाथ गर्नसक्नु नै सफलता हुने बताए। उनले पछिल्लो समय विश्वमा दर्शन, विचार र सिद्धान्तका बारेमा छलफल भन्दा पनि व्यापारमा बढी केन्द्रित भएको बताए।