PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

असार १७ गतेदेखि मञ्चन हुँदैछ जगदीश घिमिरेको कथामा आधारित नाटक ‘साबिती’



पहिलोपोस्ट

असार १७ गतेदेखि मञ्चन हुँदैछ जगदीश घिमिरेको कथामा आधारित नाटक ‘साबिती’

काठमाडौं : थिएटर भिलेजले साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। यो नाटक आगामी असार १७ देखि १९ गतेसम्म शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो।

यस नाटकमा भारतीय रंगकर्मी अनुराधा मजुमदारको मुख्य भूमिका रहेको छ। अनुराधाले यसअघि नेपाली नाटक ‘खुमा’ र ‘बाँकी उज्यालो’ समेत अभिनय गरिसकेकी छिन्। नाटकमा अनुराधाका साथै सुजन वली र साजन कुमार सुनुवारको पनि अभिनय रहनेछ। नाटकका लागि अनुराधा नेपाल आइसकेको र नाटकको रिहर्सलको तयारी तीव्र रूपमा अगाडि बढिरहेको थिएटर भिलेजले जानकारी दिएको छ।

यो नाटक पहिलोपटक भने मञ्चन हुन लागेको होइन्। सन् २०१३ (विसं २०७०) मा थिएटर भिलेजले यसै नाटकमार्फत ‘सत्यमोहन जोशी नाटकघर’ उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो। तर, प्राविधिक कारणले उक्त नाटक पहिलो शो नसकिँदै रोकिएको थियो। त्यसपछि सन् २०१९ मा यो नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटी र जम्मूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि देखाइएको थियो।

हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकूल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो। यो संस्करणको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन्। धेरै पहिले लेखिएको भए पनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरूप देखाउने यसका निर्देशक विमल सुवेदी बताउँछन्।

यस कथाले अनेकौँ आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनैतिक विसङ्गति, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारिकरणलाई उदाङ्गो पारेको बताउँछिन् रंगकर्मी अनुराधा। मूल कथा पुरुष पात्रको पक्षबाट लेखिएको भए पनि नाटकले महिला पात्रलाई केन्द्रमा राखी महिला पात्रहरू कसरी असमान सामाजिक संरचनाको कठघरामा उभिएका छन् भन्ने पक्ष आफूलाई सबैभन्दा सुन्दर लाग्ने उनी बताउँछिन्।

थिएटर भिलेजले केही समयअघि मात्रै नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक ‘पल्पसा क्याफे’ पनि मञ्चन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell