काठमाडौं : सांसद बिमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अडियो प्रकरणबारे ध्यानाकर्षण गरेकी छिन्। आज राष्ट्रिय सभामा जारी बैठकका क्रममा सांसद पौड्यालले आलेको अडियो प्रकरणबारे ध्यानाकर्षण गर्दै मन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी हुन्।
सामाजिक सञ्जालमा मन्त्री आलेको अभद्र अडियोले सबैको ध्यान आकृष्ट गरेको उल्लेख गर्दै उनले सार्वजनिक पद धारण गर्ने व्यक्तिले यसरी बोल्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न तेर्सिएको बताइन्।
पौड्यालले भनिन्, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अहिले बोल्न लागिराख्नुभाको छ संसदमा, उहाँसम्बन्धि उहाँले बोलेको असाध्य अभद्र कसैले पनि सुन्न नसक्ने अपाच्य अडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा करिब एक हप्तादेखि त्यो अडियो सबैको ध्यान आकृष्ट गरेको छ। हामी धेरैजना मान्छेहरु त्यो अडियो सुन्न सक्ने अवस्थामा पनि छैनौँ र सबैले प्रश्न उठाइराखेका छन्, सार्वजनिक पद धारण गर्ने व्यक्तिले यसरी बोल्न मिल्छ कि मिल्दैन। उहाँले जुन किसिमको गाली गलौच गर्नु भएको छ। जसरी आइरहेको छ अडियोमा त्यो गाली गलौच सर्वसाधारणले गर्न सक्दैन। हामी सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिहरुले त यो क्षम्य हुनै नहुने खालको काम गरेको मलाई महसुस भएको छ।’
यो अभद्रता सह्य नहुने भन्दै उनले संसदले यसलाई साधारण ठान्न नमिल्ने समेत बताइन्।
‘प्रधानमन्त्रीले त सुन्नुभएन, बुझ्नु भएन, पचाउनुभयो मलाई थाहा छैन। उहाँ सम्बद्ध राजनीतिक दलले पनि यसलाई साधारण ठानेको होला। तर, संसदले यसलाई साधारण ठान्न सक्दैन। यो अभद्रता सह्य हुँदैन। र यसको लागि आज यो संसदमा सम्बोधन गर्नुभन्दा पहिले सार्वजनिक रुपमा मन्त्रीज्यूले माफी माग्नुपर्छ भनेर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।
पर्यटनमन्त्री आलेले केही दिनअघि नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग गरेको चर्काचर्कीको अडियो बाहिरिएको थियो। उक्त विवादपछि अधिकारीलाई सरकारले बर्खास्त गरिसकेको छ।
अडियो प्रकरणबारे सांसदले प्रश्न राखे पनि मन्त्री आलेले भने यसको जवाफ दिएनन्। आलेले जवाफ नदिएपछि प्रतिपक्षी एमालेका सांसद्हरुले समेत उठेर विरोध जनाएका थिए। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पौड्याललाई पुन बोल्न समय प्रदान गरे।
सांसद पौड्यालले मन्त्री आलेले अभद्र व्यवहार स्विकारै नगरेकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखिन्। राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले सिंगो सदनको ध्यान उक्त प्रश्नमा गएको उल्लेख गर्दै पटकपटक बस्न आग्रह गरेपछि सांसदहरुले अवरोध हटाएका थिए।