PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्रै रोजगारी सिर्जना हुन्छ : मन्त्री बडू



पहिलोपोस्ट

उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्रै रोजगारी सिर्जना हुन्छ : मन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन्। आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन्।

उनले कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको भन्दै सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने बताए। मन्त्री बडूले अहिले भइरहेका उद्योगहरु ६० देखि ७० प्रतिशतसम्म मात्रै चल्न सकेको भन्दै यसलाई पूर्ण रुपमा चलाउने कार्यदिशामा सरकार अग्रसर रहेको बताए।

उनले रुग्ण उद्योग सञ्चालनका लागि उपयुक्त ढाँचा बनाउने काममा सरकार लागिरहेको भन्दै सरकारले स्वयं वा सरकार र निजी क्षेत्रको पीपीपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि रुग्ण उद्योग सञ्चालन गर्ने तयारी रहेको बताए। मन्त्री बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको दावी गरे।

उनले भने, ‘सरकारले स्वयं वा निजी क्षेत्रको पीपीपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि चलाउने, निजी क्षेत्रले पनि चलाउन सक्छ, सरकारलाई दिने राजश्व सन्दर्भमा हामीले यो नीतिगत बाटामा जानुपर्छ। बन्द रहेका सबै उद्योग चलाउन सके रोजगारीको अवसर हुन्छ। समग्रमा मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको छ।’

मन्त्री बडूले अहिलेको भन्दा रोजगारी र उत्पादन वृद्धि गर्नेतर्फ सरकार अग्रसर रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell