PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता : गोपी र सन्तोषीलाई ३ हजार मिटर दौडमा स्वर्ण



पहिलोपोस्ट

४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता : गोपी र सन्तोषीलाई ३ हजार मिटर दौडमा स्वर्ण

काठमाडौं : विभागीय टोली एपीएफका गोपीचन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटरतर्फको दौडमा आइतवार स्वर्ण पदक जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा पार्की निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

यस्तै, आर्मीका मुकेश पालले ८ मिनेट ३० सेकेण्डमा पूरा गर्दै रजत पदक जित्दा आर्मी क्लबका दीपक अधिकारीले ८ मिनेट ३८.० सेकेण्डको समय निकाल्दै कास्य पदक हात पारे।

महिलातर्फ स्वर्ण जितेकी सन्तोषीले यसअघि भएको १५ सय मिटरमासमेत स्वर्ण जितेकी थिइन्। ३ हजार मिटर महिलातर्फ पुलिसकी राजपुरा पछाईले १० मिनेट ८.४ सेकेण्डसहित रजत जितिन्। कर्णालीकी राममाया बुढाले १० मिनेट ४१.९ सेकेण्डसहित कास्य पदक हात पारिन्।

रंगशालामा नै सम्पन्न ४ गुणा ४ सय मिटर रिले महिलातर्फ एपीएफले स्वर्ण पदक जितेको छ। रमिता कुमार थारु, भागरती कुमारी थारु, कल्पना श्रेष्ठ र फूलमती रानाको समूहले आर्मीको टोलीलाई पछि पार्दै स्वर्ण जितेको हो। एपीएफको टोलीले निर्धारित दूरी ४ मिनेट ३.१ सेकेण्डेमा पूरा गर्दै स्वर्ण पदक जित निकाल्दा आर्मीले ४ मिनेट ९.३ सेकेण्डको समय निकाल्दै रजत पदक हाँसिल गरेको हो। यस्तै कास्य पदक जितेको वाग्मती प्रदेशले निर्धारित दूरी ४ मिनेट ४०.९ सेकेण्डमा पूरा गर्‍यो।

आइतवारकै पुरुष तर्फको ४ गुणा ४ सय मिटरमा भने आर्मीले एपीएफलाई पछि पार्दै स्वर्ण पदक जित्यो। आर्मीको समूहले निर्धारित दूरी ३ मिनेट २०.४ सेकेण्डमा पूरा गरेको हो। रजत पदक जितेको एपीएफको टोलीले निर्धारित दूरी पार गर्न ३ मिनेट २१.९ सेकेण्ड समय खर्चियो। यस्तै, पुलिसले निर्धारित दूरी ३ मिनेट ३०.८ सेकेण्ड पूरा गरेर कास्य पदकमा चित्त बुझायो।

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत आइतवारै सम्पन्न ट्रिपल जम्प महिला तर्फको प्रतिष्पर्धामा एपीएफकी शिला चौधरीले स्वर्ण पदक जित्दा पुलिसकी सीमा चौधरीले रजत तथा आर्मीकी निर्मला थापाले कास्य पदक जिते। शिलाले ११.०४ मिटर जम्प गर्दा सीमाले १०.५२ मिटर र निर्मला थापाले ९.८९ मिटर जम्प गरिन्।

यस्तै, पुरुषतर्फ भने वाग्मती प्रदेशका भुवन महतोले १३.८२ मिटर जम्प गर्दै विभागीय प्रतिष्पर्धीलाई पछि पारेर स्वर्ण पदक जिते। आर्मीका शेरबहादुर बिष्टले १३.५३ मिटर जम्प गर्दै रजत पदक जित्दा सलिम देवानले १३.४४ मिटर जम्प गर्दै कास्य पदकमा चित्त बुझाए।

यस्तै, डिस्कस थ्रो तर्फको प्रतिस्पर्धामा आर्मीले दुवै महिला र पुरुष तर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जित्यो। महिला तर्फको खेलमा आर्मीकी सीता शाहीले ३३.५३ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्दा पुरुषतर्फ चित्रबहादुर वलीले ३६.८९ मिटर थ्रो गरेर आर्मीलाई स्वर्ण पदक दिलाएका हुन्।

लुम्बिनीकी संगीता अधिकारीले ३३.३८ मिटर थ्रो गर्दै रजत पदक जित्दा आर्मीकी मिलन बुढामगरले ३२.९५ मिटर थ्रो गर्दै कास्य पदकमा चित्त बुझाइन्। यस्तै, ३३.१८ मिटर थ्रो गर्दै पुलिसका पुस्कल खड्काले रजत पदक प्राप्त गर्दा ३३.०५ मिटर थ्रो गरेका एपीएफका मिलन चौधरी तेस्रो भए।

यससँगै कोरोना महामारीपछि पहिलोपटक आयोजना भएको तीन दिने ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएको छ। आर्मीकी जयरानी थारु र एपीएफका शिव पार्की उत्कृष्ट खेलाडी घोषित भए।

आर्मी १८ स्वर्ण, १२ रजत र ५ कास्यसहित पहिलो भयो भने १९ स्वर्ण, ६ रजत र ८ कास्य जितेको एपीएफ दोस्रो भयो। यस्तै, ३ स्वर्ण, २ रजत र ४ कास्य जितेको वाग्मती प्रदेश तेस्रो स्थानमा रह्यो।

उता, विभागीय टोली नेपाल पुलिसले २ स्वर्ण, ३ रजत र ४ कास्य पदका निकाल्दा चौथो बन्यो। विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, एथ्लेटिकक्स संघका अध्यक्ष राजिवविक्रम शाह लगायतले पुरस्कृत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell