काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छिन्। मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर पदबाट राजीनामा दिएको जानकारी झाँक्रीले गराएकी हुन्।
उनको पार्टी नेकपा (एकीकृत समाजवादी)ले जेठ २२ गते नै पदबाट हटाउने निर्णय गरेको भएपनि झाँक्रीले आइतवार राजीनामा गरिन्। आइतवार नै पर्यटनमन्त्री प्रेमबहादुर आलेले पनि पदबाट राजीनामा दिएका छन्। ८ महिना २० दिन पदमा बसेकी एकीकृत समाजवादीको तर्फबाट सहरी विकास मन्त्री बनेकी झाक्रीले आफूले नीतिगत रुपमा काम गरेको बताइन्।
‘बञ्चरेडाँडा परियोजना सहरी विकास मन्त्रालयले पाएको आयोजना आएको थियो। त्यसमा फोहोर फाल्न सफल भयौँ,’ मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले भने।
अहिलेको बजेटबाट रेट्रोफिटिङ प्रोजेक्ट सुरु भएको सिंहले बताए। भवन भत्कनुभन्दा पहिले नै रेट्रोफिट हुने आयोजना सुरु भएको उनको भनाइ छ। सिंहले केही अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि झाँक्रीको कार्यकालमा सम्झौता भएको बताए।
दमक भ्यू टावर, मन्त्री निवास, मुख्यमन्त्री र प्रदेश प्रमुखको सम्पर्क कार्यालय निर्माण सम्पन्नको चरणमा रहेको सिंहले बताए। ‘निजी आवासतर्फ ठूलो काम भएको छ। धरहरा निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ,’ उनले भने।
सचिव सिंहले आफूहरुलाई झाँक्री जतिको ‘एक्टिभ’ मन्त्री पाउने सम्भावना अब कम भएको बताए।
राजीनामा दिँदा पत्रकार सम्मेलनमा भावुक बनेकी झाँक्रीले आफूलाई कर्मचारीले मायाको चिनो दिँदा पनि गाह्रो भएको बताएकी थिइन्। उनले आफ्नो भनेर सोसल मिडियामा ठूलो घरको चर्चा भएको भन्दै व्यङ्ग्य समेत कसिन्। ‘त्यो अस्ति सोसल मिडियामा ठूलो घर आएको थियो त्यो पहिला पूरा गरिदिउँ न,’ उनले भनिन्।
पत्रकार सम्मेलनको अन्तिमतिर भने झाँक्री रोइन्। पटक-पटक सुक्सुकाएकी उनले न्याप्किन लिँदै आँशु पुछेकी थिइन्।