![बेलायती अखबारको दाबी : 'प्रिन्स चार्ल्सले कतारका पूर्व प्रधानमन्त्रीबाट करोडौं रुपैयाँ चन्दा लिए'](https://pahilopost.com/assets/upload/contentthumb/ju.jpg)
बेलायतका युवराज चार्ल्सले कतारका पूर्व प्रधानमन्त्री शेख हमिद बिन जस्सिमले प्रदान गरेको करोडौं रुपैयाँ नगद स्वीकार गरेको दाबी गरिएको छ। द सन्डे टाइम्सले चार्ल्सले तीनपटक नगद चन्दास्वरुप लिएको समाचार प्रकाशन गरेको बीबीसीले जनाएको छ।
सन्डे टाइम्सका अनुसार चार्ल्सले सन् २०११ देखि २०१५सम्म तीनपटक गरि करिब १ मिलियन युरोप नगदमा चन्दा लिएका थिए। क्लरेन्सन हाउसमै भएको भेटका क्रममा एकपटक चन्दा लिइएको दाबी गरिएको छ। सन् २०१३ जुनसम्म शेख हमिद कतारका प्रधानमन्त्री थिए। नगदहरु फोर्टनम र मेसनका डिपार्टमेन्ट स्टोरका ‘क्यारियर ब्याग’मा रहेको समेत उल्लेख गरिएको छ।
क्लरेन्सन हाउसले भने कतारी प्रधानमन्त्रीसँग चन्दा लिए लगत्तै सबै नगद चार्ल्सको च्यारिटीमा पठाइएको जनाएको छ। सबै कामहरु पारदर्शीरुपमा भएको दाबी हाउसले गरेको छ। सबै चन्दा प्रिन्स अफ वेल्स चर्रिटेबल फन्डले लिएको जनाइएको छ। सो च्यारिटेबल फन्डले चन्दा कानुनीरुपमा वैध तरिकाले आएको पुष्टि भएपछि नै ट्रस्टीहरुले स्वीकार गरेको जनाएको छ।
केही समय अघि बेलायतको सम्मान र नागरिकता पाउन साउदीको एक दाताबाट सहयोग लिएको आरोप सो संस्थामाथि लागेको थियो। उक्त घटनामा प्रहरीले अनुसन्धानसमेत गरेको थियो। क्लरेन्स हाउसले ‘च्यारिटी’मा दान दिएर सम्मान र नागरिकता दिएकोबारे चार्ल्स बेखबर रहेको स्पष्टीकरण दिएको छ। गत नोभेम्बरमा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृतले अनुसन्धान चल्दै गर्दा राजीनामा दिएका थिए। अनुसन्धानका क्रममा महफुज मरि मुबारक बिन महफुजलाई सम्मान दिन उनले सहकार्य गरेको पुष्टि भएको थियो। तर, ट्रस्टीहरुलाई सो घटना जानकारी भएको बारे कुनै प्रमाण नभेटिएको अनुसन्धानबाट देखिएको थियो।