
काठमाडौं : नेपाली महिला क्रिकेट टोली एसिया कप छनोटको मुखैमा पुगेर बाहिरिने अभागी टोली बनेको छ। मलेसियामा सम्पन्न एसीसी महिला टी-२० च्याम्पियनसीपबाट एसिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र बाँकी रहँदा नेपाल पछि हट्न बाध्य बाध्य भयो।
सेमिफाइनलमा जित निकाल्दा एसिया कपमा पुग्ने समीकरणमा पहिलो पारिमा सानदार प्रदर्शन गरेपनि दोस्रो हाफमा वर्षा बाधक बन्यो। र, यूएई समूह विजेता भएको आधारमा फाइनल र एसिया कपमा स्थान सुरक्षित गर्यो।
अस्मिना कर्माचार्यको ५ विकेटको तारिफ योग्य बलिङ शुभ संकेत भएपनि वर्षा बाधक बन्दा एसियाकप यात्रा टुङ्गियो। मुखैमा आएको उपलब्धि गुमाउँदा खेलाडी निराश भए पनि प्रदर्शनमा भने सन्तुष्ट छन्।
सोमवार स्वदेश फर्किपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरै भन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन्।
‘सबै खेलाडीले खेल मैदानमा आ-आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो। योजना अनुसार समग्र टोलीले प्रदर्शन गरेको पनि हो। हङकङसँगको हारपछि समीकरण बदलिए पनि युएईमाथि प्रदर्शन हाम्रो लागि राम्रो हो’, क्षेत्रीले भनिन्, ‘बलियो युएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भएपनि नखेली आउनुपर्दा दुःख लागेको छ।’
टोलीमा अहिले केही अनुभवी, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान क्षेत्रीले निरन्तरको अभ्यास र धेरै भन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन्।
‘हामी अहिलेको लयलाई निरन्तरता दिन चाहन्छौँ। यो सल्लाह पनि भएको छ। भरसक सबै खेलाडी काठमाडौंमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएका छौँ’, उनले भनिन्, ‘आउँदै गरेको प्रतियोगितालाई मध्यनजर गर्दै योजनावद्ध तरिकाले अगाडि बढ्ने सोच बनाएका छौँ। यसका अलावा हामीलाई धेरै भन्दा धेरै प्रतियोगिताको खाँचो छ। युगाण्डा सँगको श्रृंखलाको अनुभवले हाम्रा धेरै कमीकमजोरी सुधार गर्नसक्यौँ भने आउँदो दिन नेपाली महिला क्रिकेटका लागि राम्रो हुनेछ। अब धेरै श्रृंखला खेलेर प्रतियोगितामा सहभागी हुन पायौँ भने अवस्य राम्रो गर्न सक्छौँ।’
यस्तै, जादुमय बलिङ गरेकी अस्मिना कर्माचार्यले पनि भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्नका लागि संघले कार्यक्रम राखेर प्राथमिकता दिनुपर्ने बताइन्।
‘राम्रो खेल्दा खेल्दै पनि हामी बाहिरिनु पर्दा दुःख लागेको छ। मेरो व्यक्तिगत करियरमा ५ विकेट निकै महत्वपूर्ण रह्यो’, उनले भनिन्, ‘व्यक्तिगत हौसला मिलेको छ। खेल गुमाए पनि हाम्रो टोलीले लय पाएको छ। यही लयलाई निरन्तरता दिनसक्यौँ भने महिला टोलीले भविष्यमा अझै राम्रो गर्नसक्छ।’
यता, मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनु परेको भन्दै जिम्मा आफूले लिने बताए। एसीसी र आईसीसीले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक पर्ने भएपनि नराखेकोमा गुनासो गरे। समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षा अनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको मुख्य प्रशिक्षक टमाटाले बताए।
‘उपाधि लक्ष्यका साथ हामी मलेसिया गएका थियौँ। दुर्भाग्य सेमिफाइनल खेल वर्षाका कारण रद्द भयो। मुखमै आएको खेल छुट्टयो। धेरै दुःख लागेको छ। लक्ष्यमा पुग्न हामी चुक्यौँ’, प्रशिक्षक टमाटाले भने, ‘प्रशिक्षकको नाताले म यसको जिम्मा लिन्छु। व्यत्तिगत हिसावमा मलाई पनि निकै नरमाइलो अनुभव भइरहेको छ। तर, समग्रमा नेपाली महिला टोली राम्रो खेल्यो। ब्याटिङ, बलिङमा टोलीको प्रदर्शन राम्रो रह्यो विशेष गरी युएईसँगको खेलमा अस्मिनाको बलिङ निकै उत्कृष्ट रह्यो।’
मुख्य प्रशिक्षक टमाटाले पनि कप्तान रुबिनाले भने जस्तै धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली दुई वर्षमा छलाङ मार्ने दावी गरे।
‘यो भ्रमणबाट धेरै सकारात्मक पक्ष बुनिएका छन्। अहिले टोलीले लिएको लयलाई निरन्तरता दिनुपर्छ। एक्सपोजर धेरै महत्वपूर्ण पाटो हो। सँगै निरन्तर अभ्यासको निकै खाँचो छ’, उनले भने, ‘यो प्रतियोगितामा नेपाली टोलीले गरेको प्रदर्शनलाई सबैले तारिफ गरेको छ। आगामी दिनमा महिला क्रिकेटमा धेरै प्रतियोगिता छन्। विश्वकै बलियो राष्ट्र भारत, बंगलादेश हाम्रो छिमेकी छन्। उनीहरुसँग धेरै भन्दा धेरै प्रतियोगिता खेलाउन सक्छौँ।’
खेलको विकासका लागि धेरैभन्दा धेरै प्रतियोगिताको आवश्यकता रहेको टमाटाले बताए।
‘थाइल्याण्डसँग सम्बन्ध विस्तार गरेर महिला खेलाडीका लागि अभ्यासको अवसर सिर्जना गर्न सकिन्छ। अझै राम्रो खेलाडी बेन्च बाहिर पनि छन्’, उनले भने, ‘उनीहरुलाई अवसर दिए राम्रो सम्भावना छ। राम्रो एक्सपोजर दिन सक्यौँ भने दुई वर्षमा नेपाली क्रिकेट धेरै माथि उठ्नसक्छ।’
च्याम्पियनसिपमा १० टोलीले सहभागिता जनाएका थिए। पाँच/पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरी गराइएको प्रतिष्पर्धामा नेपाल समूह बीमा रहेको थियो। चार खेलमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हारबाट समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो। समूह ए को विजेता युएईसँगको खेल वर्षाका कारण अवरुद्ध हुँदा समूह विजेताको आधारमा युएई फाइनल पुग्दा नेपालको एसियाकप यात्रामा पूर्णविराम लागेको थियो।