PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

नेपाल-भारतबिचको सीमा समस्या समाधान गर्न सरकारले निरन्तर प्रयास गरिहेको छ : परराष्ट्र मन्त्री खड्का



पहिलोपोस्ट

नेपाल-भारतबिचको सीमा समस्या समाधान गर्न सरकारले निरन्तर प्रयास गरिहेको छ : परराष्ट्र मन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले देउवाको विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले सम्बन्ध थप प्रगाढ र विस्तारित भएको बताएका हुन्।

द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको मन्त्री डा खड्काले बताए। उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाल-भारतका बिचमा नसुल्झिएका सीमा समस्या समाधानका लागि सरकारले निरन्तर प्रयास गरिहेको पनि जानकारी दिएका छन्।

सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागिसमेत सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरिसकिएको उनको बताए।

कोरोनाका कारण चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहजरुपमा अध्ययन गर्न जान दिनका लागिसमेत सरकारले कूटनीतिक प्रयास गरेको र त्यसमा सफलता हासिल हुने क्रममा रहेको उनले बताए। साथै, वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले प्रयास गरिरहेको र अफगानिस्तानमा मानवीय सहयोगका लागि पनि सरकारले प्रयास गरेको पनि उनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell