PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

उपत्यकाका विभिन्न स्थानमा हैजाको बिरामी भेटिँदै, लक्षण के? घरमै उपचार गर्ने यी हुन् उपाय



पहिलोपोस्ट

उपत्यकाका विभिन्न स्थानमा हैजाको बिरामी भेटिँदै, लक्षण के? घरमै उपचार गर्ने यी हुन् उपाय
Photo : Creative Biolabs

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाको बिरामीको संख्या बढ्दो छ। हालसम्म काठमाडौँ उपत्यकामा १२ जनामा हैजाको संक्रमण देखिएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिएका हुन्।

संक्रमण देखिएका १२ जनामध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन्। चार जनाको भने उपचार भइरहेको उनले जानकारी दिए। हाल उपत्यकाका विभिन्न स्थानमा हैजाका बिरामी भेटिएका छन्।

काठमाडौंमा हैजाको चर्चा चलेको महिना दिन भयो। हैजा काठमाडौं हुँदै ललितपुरमा पनि फैलिएपछि ललितपुर महानगरपालिकाले पानीपुरी चटपटेलगायतका ठेलामा बेचिने खानेकुरा बिक्री वितरणमा रोक लगाइसकेको छ। काठमाडौं महानगरपालिकाले पनि हैजा नियन्त्रणका लागि पानीको परीक्षण गरिरहेको छ। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो। असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो। उनीहरु बस्ने स्थानको पानीमा दिसाको किटाणु भेटिएको थियो। 

उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताएका हुन्।

महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उहाँले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए। उनका अनुसार बागबजारको खानेपानी प्रदूषित रहेको छ। यस्तै सानेपामा  परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए।

‘पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौँ’, उनले भने,‘अध्ययनका लागि सबै ठाउँको पानीको नमूना सङ्कलन गरिरहेका छौं।’

यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ। नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो। यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ।

महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिए। उनले महाशाखा र काठमाडौँ उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताए। महाशाखाका निर्देशक डा दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताए।

काठमाडौं उपत्यकामा हैजा फैलिने डर बढ्दै गर्दा त्यसको बहस प्रतिनिधिसभाको समितिसम्मै पुगेको छ। सांसदहरुले संक्रमण फैलिनबाट रोक्न सरकारलाई आग्रह गरेका छन्। यस्तै, सरकारले हैजा नियन्त्रणका लागि अपनाएका उपायहरु बारे जानकारी माग गरेका छन् सांसदहरुले।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार हैजामा पेट दुख्ने, वान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा आउने जस्ता लक्षणहरु देखिन्छन्। काठमाडौं उपत्यकामा हैजा देखिएपछि स्वास्थ्य मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल र समन्वय गरिरहेको छ। मन्त्रालयले हैजा सम्बन्धि कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध समेत गरेको छ। हैजा फैलिएर महामारी बन्न सक्ने भन्दै मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेरको छ। 

घरमै उपचार गर्ने पाँच नियम

स्वास्थ्य मन्त्रालयका अनुसार यसरी घरमै उपचार गर्न सकिन्छ।

१) झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने।

२) प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने।

३) नरम तथा सजिलै पच्ने खानेकरा थोरै थोरै गरी पटक पटक खुवाइरहने

४) स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नबिराइकन खुवाउने

५) व्यक्तिगत सरसफाईमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने

यद्यपि, स्वास्थ अवस्था बिग्रिँदै गएको खण्डमा भने तुरुन्त स्वास्थ्य संस्‍था लैजान मन्त्रालयले सुझाएको छ। कस्तो लक्षण देखिएमा स्वास्थ्य संस्था जाने?

• खान पिउन नसक्ने गरी बिरामी भएमा

• दिसामा रगत देखा परेमा

• बारम्बार बान्ता भइरहेमा

• ज्यादै तिर्खाएमा

• ज्वरो आएमा

• धेरै पटक पातलो दिसा गरेमा
 

यसरी बच्न सकिन्छ पखालाबाट

• चर्पीमा मात्र दिसा पिसाव गर्ने

• दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने

• खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने

• पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने

• बासी, सडेगलेको, झिँगा भन्केको खानेकुरा नखाने

• खानेपानीको मुहान सफा र सुरक्षित राख्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell