काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आर्थिक वर्षका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९-८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।
नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन। यसअघि एकीकृत समाजवादीबाटै किसान श्रेष्ठ श्रम मन्त्री थिए।
अछाम चौरपाटी गाउँपालिका–४ (साविक पायल गाविस–५) मा २०२३ साल भदौ ६ गते जन्मिएका कुँवर नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य, सङ्गठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन्।
राष्ट्रियसभामा उनको कार्यकाल गत फागुनमा सकिएको थियो। वि सं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी अछाम क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए।