PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एमाले सांसदले राष्ट्रियसभा बैठक बहिस्कार गरे, अर्थमन्त्री शर्माले सम्बोधन गरिरहे



पहिलोपोस्ट

एमाले सांसदले राष्ट्रियसभा बैठक बहिस्कार गरे, अर्थमन्त्री शर्माले सम्बोधन गरिरहे

काठमाडौं : नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन्।

सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन्।

एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाए। उनले प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो नगरेको भन्दै आपत्ति जनाएका थिए।

त्यसलगत्तै एमाले सांसद बैठक बहिस्कार गरेर बाहिरिएका थिए। सभा अध्यक्ष तिमिल्सिनाले बैठक बहिस्कार नगर्न पटकपटक आग्रह गरे पनि एमाले सांसदले त्यसलाई स्वीकार गरेनन्। एमाले सांसदको बहिस्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिएका थिए।

शर्माले स्रोत तथा साधन, पुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका थिए। राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाका बारेमा जवाफ दिँदै उनले बजेटले राखेको लक्ष्य र दृष्टिकोण स्पष्ट रहेको बताएका थिए।  देशको आवश्यकतालाई सम्बोधन गर्ने खालको बजेट आफूले प्रस्तुत गरेको उल्लेख गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र गरिबी निवारण, कृषि क्षेत्रको उत्पादन वृद्धि, बाँझो उपभोगविहीन जमिनको पूर्णरुपमा प्रयोग, मल बीउ, तालिम उपलब्ध गराउने र उत्पादित वस्तु सरकारले खरिद गर्ने व्यवस्था गरिएको अर्थमन्त्रीको भनाइ थियो।

अर्थमन्त्रीको जवाफ सकिएपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell