PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

एमालेसँगको सहमति कार्यान्वयन गर्ने मन्त्री जम्कट्टेलको वाचा, संचालन भयो वाग्मती प्रदेशसभा



पहिलोपोस्ट

एमालेसँगको सहमति कार्यान्वयन गर्ने मन्त्री जम्कट्टेलको वाचा, संचालन भयो वाग्मती प्रदेशसभा

काठमाडौं : वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन्। आज प्रदेशसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै बजेट बनाउने क्रममा केही सीमाभित्र रहेर काम गर्दा कतिपय सन्तुलन नमिलेको हुनसक्ने स्वीकार गरे। र, त्यस्ता कमजोरी सच्याएर जान सकिने बताए।

जम्कट्टेलले सरकारले बदनियत राखेर कसैलाई पनि कर छुट दिने निर्णय नगरेको बताए।

यस्तै, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौलाले सरकारले प्रतिपक्षीले उठाएका सबै विषय सम्बोधन हुन नसकेको बताएका थिए। सरकारले सिमेन्ट उद्योगलाई अनावश्यक रुपमा कर छुट दिने निर्णय गरेको प्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए। सिमेन्ट उद्योगको करसम्बन्धी कुरा अदालतमा विचाराधीन रहेकोले र विचाराधीन विषयवस्तुलाई प्रभावित पार्नेगरी सरकारले हस्तक्षेप गर्नु अनुचित हुने उनले बताएका थिए।

अर्थमन्त्रीको जवाफमा प्रतिपक्षी एमालेले पूर्ण विश्वास गर्न नसकिने बताएपछि प्रदेशसभामा पुन: जवाफ दिँदै मन्त्री जम्कट्टेलले बजेटलाई समावेशी र समानुपातिक बनाउन तथा प्रतिपक्षीको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए। प्रतिपक्षीको माग सम्बोधन हुने भएपछि एमालेले संसद् बैठक संचालन गर्न दिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell