काठमाडौं : नेपालमा बस्दै आएका रोहिंग्या शरणार्थीहरुले आफ्नो मानव अधिकार रक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। महाराजगञ्जस्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार काउन्सिलको कार्यालय बाहिर उनीहरुले प्रदर्शन गरेका हुन्।
त्यसक्रममा प्रहरी र शरणार्थीबिच केहीबेर घम्साघम्सी समेत भएको थियो। रोहिंग्याहरुले यसअघि पनि पटक-पटक विभिन्न माग राख्दै प्रदर्शन गर्दै आएका थिए।
म्यानमारबाट पलायन भई नेपाल आएका उनीहरुले आफ्नो बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित हुनुपर्ने, नेपालमा काम गर्न श्रम स्वीकृति, शरणार्थीविरुद्धको विभेदकारी नीति परिवर्तन हुनुपर्ने माग गरेका छन्। श्रम स्वीकृति दिन नसकेसम्म सबै शरणार्थी परिवारलाई बसोबास र खाद्यान्नको खर्च ब्यहोर्ने गरी आर्थिक सहयोग गर्न पनि उनीहरुले माग गरेका छन्।
उनीहरुले नेपाल सरकारलाई शहरी शरणार्थीलाई लगाउँदै आएको ‘भिसा पेनाल्टी’ अन्त्य गर्न र शरणार्थीका रुपमा मान्यता दिन पनि माग गरेका छन्। यस्तै, शरणार्थीहरुले स्वास्थ्य उपचारको खर्च ब्यहोर्न, भुटानी शरणार्थीको जस्तो सुविधा दिन, स्वदेश फर्किन चाहनेलाई चाँडै फर्कने वातावरण मिलाइदिन, क्यानडामा ‘रिसेटलमेन्ट’ प्रक्रिया अघि बढाउन पनि माग गरेका छन्।
प्रदर्शनमा रोहिंग्यासँगै अफगानिस्तानलगायतका शरणार्थीहरु पनि सहभागी थिए।