काठमाडौं : काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरका कारण हैजा फैलिएको भन्दै बेलैमा न्यूनिकरण गर्न र आवश्यक तयारी अघि बढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले सरकार यसप्रति गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्।
सांसदहरुले काठमाडौंका विभिन्न स्थानका पानी कम्पनीहरुको परीक्षण र अनुगमन हुनु आवश्यक रहेको बताए। सरकारले हैजाको त्रास र संक्रमण जताततै फैलिसक्दासमेत अनुसन्धान र तयारी नगरेको सांसदहरुले गुनासो गरेका छन्।
उनीहरुले सरकारले बेलैमा हैजा नियन्त्रण र न्यूनिकरणका उपाय नगरे यसले भयावह रुप लिनसक्नेबारे सचेत समेत गराएका छन्। बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले एकै ठाउँमा मात्रै हैजा नभेटिएकोले गम्भीर अवस्था आइसकेको भन्दै यसबारेमा छानबिन हुन जरुरी रहेको बताए।
उनले सरकारका साथसाथै जनताको पनि यसमा जिम्मेवारी रहेकोले बेलैमा सतर्क हुनुपर्ने बताए। काठमाडौंको डिल्लीबजार र बागबजार तथा ललितपुरको सानेपामा हैजा पुष्टि भइसकेको भन्दै खानेपानीको परीक्षणमा कडाइ हुनुपर्ने उनको माग थियो।
उनले भने, ‘एउटै पकेटबाट कोलेरा देखिएको भए त त्यहाँको विशेष केबाट हो भन्ने हुन्थ्यो होला। सबै ठाउँ हुँदा त सबै ठाउँको सिचुवेसन त्यस्तै देखियो, यो बढी खतरनाक हो। बागबजारमा फैलियो भने त्यसले सबै एरियामा असर गर्नसक्छ। पकेट एरियाबाट जन्मिएको हो कि के हो त्यसबारेमा छानबिन हुन जरुरी छ।’
त्यस्तै, नेकपा (एमाले)का सांसद तिलबहादुर महत क्षेत्रीले अहिलेसम्म जारको पानीमा १५ प्रतिशत पानी प्रदुषित रहेको पाइएकोले पानी उत्पादक कम्पनीहरुको निगरानी गर्न आवश्यक रहेको बताए। उनले काठमाडौंमा फेला परेका १२ जना हैजाका बिरामीमध्ये केही बिरामी पानीपुरी खाएका कारण पनि हैजा पुष्टि भएको पाइएकोले यसमा अनुसन्धान हुन आवश्यक रहेको बताए।
‘झाडापखालालाई सहयोग गर्ने धेरै भनेको पिउने पानी र प्रदुषित पानीका कारण हो। पानी उत्पादन गर्ने कम्पनीहरुमा सरकारले हेरेको छ कि छैन? निरीक्षण के भएको छ? सरकारले हेरिरहेको छैन भन्ने सुन्दैछौँ। पानीपुरी खाएर पनि बिरामी परे भन्ने सुन्दैछौँ। १२ जना भित्रकै पानीपुरीबाट बिरामी भएको भन्ने कुरा छ। यो कुरा हामीले ख्याल पुर्याएनौँ भने सम्हाल्न सक्दैनौँ। अन्य ठाउँमा पनि परीक्षण हुन जरुरी छ,’ उनले भने।
त्यस्तै, एमालेका सांसद जगत बहादुर सुनार (विश्वकर्मा)ले हैजाको कुरालाई ध्यान दिएर सतर्कता अपनाउनुपर्ने बताए। वर्षाको समय भएकोले बाढी र पहिरोको अवस्थालाई मध्यनजर गरी त्यसबाट निम्तिने महामारीलाई पनि मध्यनजर गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सम्भावित जोखिमको आँकलन गर्दा विगतको समस्यालाई हेरेर काम गर्नुपर्ने बताइन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अहिलेको तयारी उचित नरहेको पनि उनले बताइन्।
उनले भनिन्, ‘यो वर्षभन्दा अघि कसरी काम गरेका थियौँ। कति जनशक्ति कति पुगेको थिएन भन्ने कुरा विगतको डेटा हेरेर अहिले काम गर्नुपर्छ। इपिडिमियोलोजीले गरेको प्लान चित्त बुझेन।’
त्यसैगरी, एमालेकी सांसद रेखाकुमारी झाले हैजाको संक्रमण धेरै फैलिरहेपनि सरकारले अनुसन्धानमा चासो नदिएको आरोप लगाइन्। उनले एक ठाउँमा मात्रै नभई हरेक क्षेत्रका पानीहरुको जाँच गर्न आवश्यक रहेको बताइन्। उनले काठमाडौंमा केही समय पहिला थुप्रिएको फोहोर समयमै उठ्न नसक्नुले हैजाको संक्रमण झनै बढेको मत राखिन्।
उनले भनिन्, ‘हामी जहाँ जहाँ फोहोरका डंगुर देख्यौँ र निश्चित समयसम्म त्यो उठेन, त्यसले झनै फैलाउने काम गरेको छ। यसको असर विस्तारै सर्च गर्दा अरु ठाउँमा देखिन्छ भेटिन्छ। यसलाई छिटो न्यूनिकरण गर्न सकिएन भने भयावह हुन्छ।’
त्यस्तै, कांग्रेसकी सांसद चित्रलेखा यादवले हैजाको विषय गम्भीर बन्दै गएको बताइन्। उनले समितिले यसबारेमा निर्देशन दिनेमात्र नभई अनुगमन गर्न आवश्यक रहेको बताइन्। उनले केही दिन यता सरकारले औषधिको मूल्यवृद्धि गरेको समाचार आएको भन्दै आवश्यक औषधिहरुको मूल्यवृद्धि गर्नु नहुने कुरामा जोड दिइन्।
यस्तै, कांग्रेसकी सांसद नमिता कुमारी चौधरीले विद्यालयहरुमा पनि पानीको परीक्षण गर्न माग गरिन्। उनले कतिपय अभिभावकले बच्चाहरुलाई विद्यालय जाँदा पानी नपठाउने र विद्यालयमा भएको पानी खाँदा झनै हैजाको त्रास हुने भएकोले विद्यालयमा पानीको परीक्षण हुनुपर्ने बताइन्।
सांसद चौधरीले सरकारले औषधिको मूल्य बढाइरहेको भन्दै कुन औषधिको मूल्य कसरी बढाउने हो भन्ने जानकारी गराउन माग गरिन्। -न्युज एजेन्सी नेपाल