PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रशिक्षक अलमुताइरी नेपाल फर्कन्छन् कि बस्छन् बिदामा? पहिलो निर्णय नै किन तानियो विवादमा : एन्फा महासचिव राईसँग कुराकानी



पहिलोपोस्ट

प्रशिक्षक अलमुताइरी नेपाल फर्कन्छन् कि बस्छन् बिदामा? पहिलो निर्णय नै किन तानियो विवादमा : एन्फा महासचिव राईसँग कुराकानी

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्बाङ चुनिँदा कार्यसमितिका अधिकांश सदस्य पनि उनी पक्षकै छन्। नेम्बाङ कार्यसमितिले शपथ लिएकै दिन तीन पदमा नियुक्तिसमेत दियो। महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र विदेश विभागमा नवीन पाण्डे नियुक्त भए।

राई यसअघिको कार्यसमितिमा प्रवक्ता थिए। नेम्बाङ वरिष्ठ उपाध्यक्ष रहेको बेला प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएपछि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राईले राजीनामा दिएका थिए।

महासचिव बनेसँगै राईमाथि अलमुताइरीलाई समन्वय गर्नेदेखि नेम्बाङले उठाउँदै आएको पारदर्शितालगायतको वाचा पुरा गर्नुपर्ने जिम्मेवारी छ। तर विदेश विभाग प्रमुखमा नियुक्तीमै नयाँ कार्यसमितिमाथि अवैधानिक कदम चालेको आरोप लागिसकेको छ। वैधानिक विषयमा कार्यसमिति शुरुमै किन चुक्यो? अब एन्फा कसरी अघि बढ्छ? आमागी कार्यक्रम के कस्ता हुनेछन्? प्रशिक्षक फेर्छन् कि अलमुताइरीले नै निरन्तरता पाउँछन्? यिनै विषयमा पहिलोपोस्टका लागि निशा गुरुङले एन्फाका नवनियुक्त महासचिव किरण राईसँग गरेको कुराकानीको सम्पादित अंश :

एन्फा महासचिव हुनुभयो, अब कसरी अगाडि बढ्नुहुन्छ?

तत्काल त अब प्रशासनिक काम सुरु गरिसक्या छु। गएको कार्यसमितिले गरेको कामहरुको रेकर्डहरु केन्द्रित गर्ने कामहरु भइरहेको छ। अब चाँडै नै त्यस विषयको श्वेतपत्र जारी गर्ने भन्ने कार्यसमितिको निर्णय भएको छ। कार्यसमितिको निर्णयबमोजिम प्रशासनिक कामहरु प्रारम्भ भइरहेको छ।

नवनिर्वाचित अध्यक्षले आफ्नो उम्मेद्वारी घोषणा गर्दा तपाईंले विधान राम्ररी कार्यान्वयन गरेमात्र पनि फुटबल राम्रो हुने बताउनुभएको थियो। तर , पहिलो बैठकबाटै अवैधानिक निर्णय भइसक्यो!

विधान विपरित कार्य भएको छैन। विधानसम्वत् नै कार्यहरु अगाडि बढिरहेको छ।

विदेश विभाग प्रमुख नियुक्तीको विषयले अहिले तरंगित छ नि एन्फा, हैन र?

नविन पाण्डेज्यु विदेशी नागरिक एन्फाको विदेश विभाग प्रमुखमा नियुक्त भएको कुरा सत्य हो। उहाँ गैरआवासीय नागरिक हुनुहुन्छ। तर, उहाँको नियुक्तको सवालमा विधानका काहिँ पनि त्यस्तो उल्लेख छैन। विधानमा उल्लेख भएको कुरा के हो भने कुनै पनि एन्फाको चाँहि कमिटिहरु जस्तै एन्फाको केन्द्रीय कमिटी, प्रदेश कमिटी र एन्फाको जिल्ला समितिहरुको पदाधिकारी रहनलाई हुन चाहिने योग्यताहरुको सन्दर्भमा नेपाली नागरिक हुनुपर्ने गैरनागरिकले नपाउने भन्ने प्रावधान विधानमा छ। त्यसकै आधारमा टेकेर केही साथीहरुले प्रश्न उठाउनु भएको छ। तर, त्यो नविन पाण्डेज्युको हकमा वा विदेश विभाग प्रमुखको हकमा त्यो धारा आकर्षित हुँदैन किनभने उहाँ कुनै कमिटीमा बस्नुभएको होइन।

तर विधानविपरित काम भयो भनेर निर्वाचनमा तपाईहरुलाई साथ दिएकै पक्षले विरोध सुरु गरिसके?

कसले के बोल्यो, मलाई थाहा छैन। विधानको जुन धारा उहाँ(गणेश थापा)ले कोड गर्नुभएको छ, त्यो धारा र विदेश विभाग प्रमुखको नियुक्तीको सन्दर्भ मेल खाँदैन।

हाम्रो संस्था भनेको अन्तर्राष्ट्रिय सम्बन्ध पनि भएको अन्तर्राष्ट्रिय स्तरको कतिपय मान्यता र मापदण्डहरु हामीले स्वीकार्नुपर्ने भएको सन्दर्भमा हाम्रा कतिपय कन्सलटेन्सीहरु अहिले हाम्रा हेड कोच पनि विदेशी हुनुहुन्छ।  टेक्निकल डायरेक्टरलगायत विदेशीहरु हुनुहुन्छ। त्यसकारण हाम्रा  विदेशसँग पनि गतिविधि हुने भएकोले यस्ता कतिपय विदेश विभाग प्रमुखहरु नेपाली नै हुनुपर्छ भन्ने मान्यता छैन। हामीलाई देशलाई उपयुक्त हुने वा फाइदा हुने हुन्छ भने विदेशीहरु पनि नियुक्त गर्न सक्छौं। र त्यही आधारमा उहाँलाई नियुक्त गरिएको छ। अर्को कुरा उहाँ बिना पारिश्रमिक कुनै सेवासुविधा नलिइ स्वयंमसेवकीय सहयोग हामीलाई गरिरहनु भएको कारणले यो विधान विपरित भन्ने कुरामा तथ्यसम्मत छैन।

अघिल्लो कार्यकालमा पनि एकजुट भएर आउनु भएको थियो। तर, पछि दुई - तीन कित्तामा पुग्नुभयो। यसपटक पनि त्यस्तै हुने हो कि?

अब निश्चय पनि संघसंस्था सञ्चालनको सन्दर्भमा आआफ्नो दृष्किोण विचार भिजन योजनाहरु  हुन्छन्। त्यो विचार भिजन योजनाहरुमा एकरुपता नआउँदा र फरक पर्दा खेरी फरकफरक विचार समूह बन्ने रहेछ। अब त्यसैगरी गएको कार्यसमितिको पदाधिकारी हामीहरु विचारको हिसाबले र एन्फा सञ्चालनको हिसाबले फरकफरक समूहमा विभाजित भएको निर्वाचनमा गयौं।

निर्वाचनमा एउटा विचार समूहले कम मत प्राप्त गर्नुभयो र अर्को समूहले बहुमतसहित अध्यक्षको नेतृत्व प्राप्त गरेका छौं। निर्वाचनको प्रक्रिया सकिसकेको छ। अब नेपाली फुटबललाई अगाडि बढाउने चासोचिन्ता हो। त्यसकारणले धेरै विवाद नगरी अघि बढ्नुपर्छ। निर्वाचित नेतृत्वले पनि ठुलो छाती गर्नुपर्छ। र छुट्नुहुने वा उपविजेता हुनुहुने साथीहरुले पनि निर्वाचनको परिणामलाई स्वीकार्ने र नेपाली फुटबलको विकासमा आफ्नोतर्फबाट र तहबाट केके सहयोग गर्न सकिन्छ त्यो सोच्नुपर्छ। त्यस्को निम्ति पनि वर्तमान नेतृत्व र कार्यसमितिले वातावरण बनाउँछ र सबैलाई समेटेर लिएर जाने हिसाबले नै अगाडि बढ्छ।  

अघिल्लो कार्यकालमा जोडतोडले उठाउनुभएको थियो नि राष्ट्रिय लिग, अब सम्भव होला?

गर्ने भनेर लागिरहेका छौं। अब पहिल्यै नै हुने पर्ने त, नेतृत्वको इच्छाशक्ति देखिएन। विधानमा भएको प्रतियोगिताहरु प्राथमिकतामा राख्न सक्नुभएन। अब गएको समयको कुरा धेरै कोट्याउनुभन्दा आगामी दिनमा कसरी राम्रो गर्न सक्छौं र आगामी दिनमा विधानमा उल्लेखमा भएका प्रतियोगिता सबै पुरा गर्ने र त्यो प्रतियोगितामार्फत नेपाली फुटबलको विकासमा त्यसलाई मेरुदण्डको रुपमा प्रयोग गर्ने र प्रतियोगिता गर्नका लागिमात्रै नभई त्योबाट केही आउटपुट आओस् वा चाँहि नेसनल टिम निर्माणमा त्यसले भूमिका खेलोस् भन्ने हिसाबले त्यो उद्देश्यका विधानमै प्रतियोगिताहरु राखेको हुँदा त्यही उद्देशश्यकै अनुरुप हामी प्रतियोगिता आयोजना गर्छौ। 

पहिलो कार्यसमितिको बैठकले निष्काशित खेलाडी फिर्ता बोलाउने निर्णय गर्‍यो। यो त प्रशिक्षकको क्षेत्राधिकारको कुरा होइन र?

नर्मल परिस्थितिमा सबै खेलाडीको विषय प्रशिक्षकको क्षेत्राधिकारको निर्णय हुन्छ। तर तपाई हामी सबैलाई थाह छ कि यो अवस्था नर्मल अवस्था थिएन। संक्रमणकालिन अवस्थामा मुख्य प्रशिक्षक र खेलाडीबीचमा विवाद भइसकेपछि संक्रमणकालिन अवस्था एन्फाको कार्यसमितिले हस्तक्षेप गरेर विशेष निर्णय गर्नुपर्ने हुन्थ्यो र त्यही विषेश निर्णयको रुपमा बुझ्नुहुन अनुरोध गर्दछु।

प्रशिक्षक अलमुताइरीको सम्बन्धमा सचिवालयले कतार फुटबल एसोसिएसन र प्रशिक्षकसँग समन्वय गर्ने भनिएको छ, जिम्मेवारी तपाईले पाउनुभएको छ, प्रगति के छ यसको चाँहि?

प्रशिक्षकसँग मैले सम्पर्क गरेको छु। उहाँसँग कुरा भएको छ। उहाँ अहिले स्वास्थ्य सुधारको क्रममा हुनुहुन्छ। त्यसकारणले उहाँ नेपाल आइसकेपछि थप छलफल हुन्छ। उहाँलाई नेपाल आउन सेप्टेम्बरसम्म लाग्ने भन्ने बुझेको छु। उहाँले चाँहि आफ्नो तयारीको विषयमा इमेलहरु पठाउनुभएको छ। अब यो थप के गर्ने विषयमा टुंगिसकेको स्थिति छैन। किनभने उहाँ आइसके पछाडिमात्रै यस कुरामा छलफल हुन्छ। वर्तमान जिम्मेवारी र अर्को निर्णय नभएसम्मको लागि उहाँ नै हाम्रो प्रशिक्षक हुनुहुन्छ। उहाँसँग विभिन्न प्रसंगमा छलफल हुन्छ र त्यसपछि निर्णय जे हुने छ ठोस हुन्छ। र, अहिले मैले सम्पर्क समन्वय गर्ने कुराको जिम्मेवारी पाएको छु। जो मैले गरिरहेको छु। र, उहाँ आइसकेपछि सबै कुराको टुंगो लाग्छ।

एनएसएल र ए डिभिजन लिगबीचको विवाद पनि थाँतिराखिएकै छ नि?

त्यो छलफलबाटै टुङ्ग्याइन्छ। दुई पक्षीय छलफल आवश्यक सरोकारहरुसँग बसेर त्यो चाँडै टुङ्याइन्छ।

सुशासन, पारदर्शिताको नारा लिएर आउनु भएको छ तपाईको कार्यसमिति त्यसलाई कायम राख्न कतिको चुनौती देख्नुभएको छ?

चुनौती छैन। मुख्य कुरा नेतृत्वको इच्छाशक्ति प्रमुख हो। मुख्य नेतृत्वले नै त्यो कुरा गर्नु भएपछि म आफै त्यही पक्षधर भएकोले पनि मेरो कुरा के छ भनेदेखि भुलचुकमा अरु कुरामा छुट हुनसक्छ। आर्थिक कुरा, भ्रष्टाचार, कमिसन, चुहावटजस्तो कुरामा आफैप्रति निर्मम बनेको छु। म त्यो प्रकारको गतिविधि गर्नेछैन। मैले नगरेपछि अध्यक्षको निर्देशन कार्यसमितिको निर्देशन त्यही भइसकेपछि मैले अन्य व्यक्तिहरुबाट गल्ती भयो भने छुट हुन सक्छ तर, आर्थिक कुरा र आर्थिकसँग जोडिएको कुरामा छुट हुन सक्दैन। जोसुकै होस्, तत्काल एक्सन लिइनेछ।

कार्यसमितिले मलाई त्यही म्यान्डेट दिएको छ। सुशासन कायम गर्ने सन्दर्भमा पनि सुशासन कायम गर्ने नै हुन्छ। त्यसकारण जे फुटबलको हितमा हुन्छ फुटबलको पक्षमा हुन्छ। फुटबललाई धोका हुने गरी फुटबलको विरुद्धमा कुनै पनि गतिविधि हुँदैन। मुल कुरा फुटबल विकासको सन्दर्भमा नेतृत्व तहमा यो दुईवटा कुरा पारदर्शिता भ्रष्टाचाररहित शुन्य सहनशीलता हो। कमिसनका कुरा बन्द भइसकेपछि निश्चय पनि फुटबल खेलाडीहरुमा नैतिक तागत उत्पन्न हुन्छ। र आम नेपाली दर्शकहरुले पनि हामीलाई समर्थन गर्नुहुन्छ। त्यसकारण भ्रष्टाचाररहित एन्फा बनाउने कुरा मेरो पहिलो दायित्व हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell