
काठमाडौं : विश्वप्रख्यात ‘आइवेयर ब्रान्ड’ रे-बानका मालिक तथा इटालियन अर्बपति लियोनार्दो डेल भेक्चियोको निधन भएको छ। ८७ वर्षको उमेरमा उनको निधन भएको इटालियन कम्पनी एस्सिलोर लुज्जोटिकाले पुष्टि गरेको हो।
'एस्सिलोर लुज्जोटिका दुःखका साथ आज आफ्नो अध्यक्षको मृत्यु भएको घोषणा गर्दछ,' उक्त समूहले सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ।
अनाथालयमा हुर्केका डेल भेक्चियो इटालीको युद्धपश्चातको आर्थिक पुनर्स्थापनायता अर्बौं युरोको व्यवसायिक साम्राज्य बनाउन सफल व्यवसायी हुन्। उनले हासिल गरेको सफलता संसारकै सबैभन्दा प्रसिद्ध धुलोबाट उठेर शिखरमा पुग्नेहरुको कथामध्ये पर्छ।
भेक्चियोले सन् १९६१ मा लुज्जोटिका नामको कम्पनी स्थापना गरे र सन् २०१८ मा फ्रेन्च कम्पनी एस्सिलोरसँग महत्त्वपूर्ण मर्जर गर्दै रे-बान ब्रान्डको स्वामित्व भएको कम्पनी एस्सिलोर लुज्जोटिका बनाए।
डेल भेक्चियोको प्रभाव आफ्नो व्यवसायभन्दा बाहिर समेत फैलिएको थियो। सन् २०२१ को अन्त्यमा उनी न्युटेला बनाउने समूहका जियोभानी फेरेरो पछाडि इटालीका दोस्रो धनी व्यक्ति थिए।
उनको डेल्फिन होल्डिङ कम्पनी इटालियन वित्तीय सेवा समूह मेडिओबान्काको सबैभन्दा ठूलो सेयरधनी हो। इटालीको सबैभन्दा ठूलो बीमा कम्पनी जेनेरलीमा यसको हिस्सा १० प्रतिशतसम्म छ। पेरिस र मिलान दुवै स्टक एक्सचेन्मा सूचीबद्ध रियल एस्टेट कम्पनी कोभिभियोको उक्त कम्पनीमा लगभग ७ प्रतिशत स्वामित्वमा छ।