काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि मिडिया स्टडिज विषयमा स्नातकोत्तर कार्यक्रम संचालनमा ल्याउने भएको छ। विगत १६ वर्षदेखि स्नातक तहमा संचालन हुँदै आएको मिडिया स्टडिज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि विस्तार गरिएको हो।
काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरुका लागि यो सुनौलो अवसर हुने केयूको भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहाल बताए। आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडिज काठमाडौं विश्वविद्यालयमा संचालित एक पृथक कार्यक्रम भएको उनले बताए।
त्यहाँ भर्ना हुने विद्यार्थीहरुले समाज, संस्था, संस्कृति तथा प्रविधिलाई आधारशिला मानी सञ्चारमाध्यमका विभिन्न आयामहरुको अध्ययन गर्ने केयूले जनाएको छ। केयूको मिडिया स्टडिज कार्यक्रममा प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण पाइने भएकाले यहाँबाट दीक्षित हुनेहरुको बजारमा अत्याधिक माग रहेको केयूको भनाइ छ।
स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले बताए।
यस दुई वर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन्। तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापनलगायत २८ वटा विषयहरुबाट तीनवटा ऐच्छिक विषय छान्न सक्नेछन्। तर, प्रथम वर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई वैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत केयूले गरेको छ।
स्नातकोत्तर तहमा मिडिया स्टडिजमा भर्ना हुनका लागि आवेदकले जुनसुकै विषयमा कम्तिमा ३ वर्षे स्नातक तहको पढाइ पुरा गरेको हुनुपर्छ। साथै न्यूनतम ५० प्रतिशत वा २.५ जिपिए ल्याएको हुनुपर्छ। तर, १० वर्षभन्दा बढी व्यवसायिक मिडियाकर्ममा लागिसकेका आवेदकको हकमा ४५ प्रतिशत वा २ जिपिए भए पुग्ने केयूले जनाएको छ।
स्नातकोत्तर कार्यक्रममा हरेक वर्ष २० जना विद्यार्थी भर्ना हुनेछन् भने पूरा पढाई शुल्क चार लाख रुपैयाँ कायम गरिएको बताइएको छ। यस कार्यक्रममा भर्ना भएकामध्ये २० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको समेत व्यवस्था गरिएको केयूले जनाएको छ।