PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतमको प्रश्न : मेरो श्रीमती राजनीतिमा आउन हुँदैन र? राजनीतिक अधिकार पाउन हुन्न?



पहिलोपोस्ट

नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतमको प्रश्न : मेरो श्रीमती राजनीतिमा आउन हुँदैन र? राजनीतिक अधिकार पाउन हुन्न?

काठमाडौं : वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्। नेकपा (एमाले) छोडेका गौतमले आज पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन्। गौतमको पार्टीमा ७५ जना केन्द्रीय सदस्य छन् भने स्थायी कमिटीमा १५ जना छन्।

पार्टी घोषणा गर्दै उनले आफ्ना सबै सन्तान आन्दोलनमा लागेको बताए। उनले व्यक्तिगत आकांक्षा छोडेर पूर्णकालिन राजनीतिमा हिँडेको पनि बताए।

उनले भने, ‘गण्डकी भन्दा पश्चिम नयाँ क्रान्तिकारी पार्टी मालेको जग हालिएको थियो। कम्पनी खोलेर कुनै व्यक्तिगत लाभका लागि गरेको छैन।’

कम्युनिस्ट आन्दोलन धरासयी भएको उनको भनाइ थियो। निर्वाचनमा एमालेका विरुद्ध ५ दलीय गठबन्धन उत्रिएको पनि उनको भनाइ थियो।

‘एकता कम्युनिस्टमा भएन भने कांग्रेसले सके त बहुमत नभए सबैभन्दा ठूलो पार्टी बन्ने छ। कांग्रेसकै ५ वर्ष सरकार बन्ने छ। कांग्रेसको सहकार्यमै परिवर्तन भएको छ तर कांग्रेसको सरकारका बेला ठूला-ठूला अप्ठेरा भएका छन्,’ उनले भने।

३ महिनासम्म एकताको पर्यत्न बढाउने बताउँदै उनले भने, ‘हेर्दै जानुस् मैले जुन पार्टीको शिलान्यास गरेको छु मैले उद्घाटन गर्ने छु चकित हुने छन्। म जहाँ जाने छु त्यहाँ चकित हुने छन्।’

आफ्नो परिवारका सदस्य राजनीतिमा आएकोप्रति उनले भने : मेरो श्रीमती राजनीतिमा आउन हुँदैन र? राजनीतिक अधिकार पाउन हुन्न भन्ने कसरी भयो?

आफूलाई हजारौँ नेता कार्यकर्ताहरुले साथ दिएको उनको दावी थियो। दर्ता भएका ४/५ वटा पार्टीहरु आफूहरुको साथमा रहेको उनको भनाइ थियो।

‘११ गते राष्ट्रिय भेला गरेर केन्द्रीय कमिटी बनायौँ। पहिलो बैठकले निर्णय गर्‍यो। हामीसँग हिजो चुम्बक थिएन अब चुम्बक सिर्जना गर्ने प्रयास गर्छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell