PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यौन रोगको समस्या लिएर जाँदा महिलालाई परिवारको डर, पुरुष पनि मान्दैनन् उपचार गर्न



रिना थापा

यौन रोगको समस्या लिएर जाँदा महिलालाई परिवारको डर, पुरुष पनि मान्दैनन् उपचार गर्न
Photo : CK12 org

पोखरा : पोखरा महानगरपालिकाले संचालनमा ल्याएको स्वास्थ्य शिविरमा केही समय अगाडि एक महिला आइन्। स्वास्थ्यकर्मीले उनलाई सुरुवातमै यौन रोगको लक्षण छ वा छैन भनेर सोधिन्। ती महिलाले केही लक्षण नदेखिएको बताइन्। पछि, परीक्षण गर्दा उनमा यौन रोगको संक्रमण देखियो। स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि उपचार गरेपछि निको भयो।

पोखरा महानगरले परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘भीआइए क्याम्प’ संचालन गर्दै आएको छ। जसमा महिलाको पाठेघरसम्बन्धि रोगको परीक्षण गरिन्छ। ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरले यो कार्यक्रम गर्दै आएको छ। यहीँ कार्यक्रम अन्तर्गत परीक्षण गराउन आइपुगेकी थिइन् ती महिला। शिविरमा स्वास्थ्य जाँच गरेकी थिइन् अनमी शान्ति बरालले।

महानगरले महिलामा हुने समस्या जस्तै पाठेघरको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्यालाई प्राथमिकतामा राखेर यो स्वास्थ्य शिविर संचालनमा ल्याएको हो। तर, शिविरमा जाँच गराउन आउने अधिकांशमा सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन ‘एसटीआइ’ अर्थात् यौन संचारित संक्रमण देखिन्छ। शान्तिका अनुसार शिविरमा आउनेमध्ये अधिकांशमा ‘सिफलिस र गोनोरिया’को समस्या देखिएको छ। संक्रमणको समस्या देखिए पनि उनीहरु उपचार गराउन भने असहज महसुस गर्ने गरेको शान्तिले बताइन्। यस्ता समस्या लिएर कोही महिला आइहाले पनि घरबाट लुकेर आउने गरेको पाइएको उनको भनाइ छ।

‘सोच्न नसक्ने समस्या लिएर आउनुहुन्छ। उपचार गर्न पहुँच नपुगेर पनि उपचार ठाउँ नभेटेर उपचार नगरेको भेटिन्छ कोहीको। केही महिला घरबाट नसोधी ‘ला’ मलाई घरमा भनिदियो भने भन्दै डरले लुकेर कसैलाई नभन्दिनु होला भनेर आउँछन्,’ शान्तिले बताइन्।

केही महिला यौन रोगको लक्षण र समस्या लिएर आउँछन् पनि। तर, उपचार गर्न चाहँदा श्रीमान नमान्ने, रिसाउने गरेको पाइएको शान्ति बताउँछिन्।

‘कतिले यस्तो छ भनेर भन्नुहुन्छ। एसटीआइको उपचारका लागि दुवै श्रीमान श्रीमतीले उपचार गर्नुपर्ने हुन्छ। एकैपटक उपचार गर्नुपर्‍यो भन्दा होइन श्रीमान् मान्दै मान्नुहुन्न, सम्झाइदिनु न भन्नुहुन्छ,’ शन्तिले सुनाइन्, ‘कसैले हामी दुवैलाई औषधि खाएर सञ्चो हुन्छ भने खान्छौं भन्नुहुन्छ। कतिपय औषधि दिएर पठाउँदा श्रीमान् रिसाउने गरेको पनि सुनाउनु हुन्छ।’

पाठेघरको क्यान्सर समस्यालाई प्राथमिकतामा राखेर संचालनमा ल्याइएको शिविरमा कतिपय महिला पाठेघरको समस्या लिएर पनि आउँछन्। शिविरमा महिलाको पाठेघरमा केही वर्ष पछाडि क्यान्सर गराउने तत्व छ वा छैन भनेर परीक्षण हुन्छ। क्यान्सर गराउने तत्व भेटिए शिविरले थप औषधि उपचारका लागि सल्लाह सुझाव दिन्छ।

‘यस क्यापबाट पाठेघरको मुखमा क्यान्सर गराउने तत्व छ कि छैन भनेर हेर्छौं। आजभन्दा दश वर्ष पछाडि क्यान्सर गराउने तत्व छ कि छैन भनेर हेर्छौँ भीआइए मेथडबाट। समस्या देखिए थप उपचारका लागि सल्लाह दिन्छौँ,’ उनले भनिन्।

ग्रामीण भेगका बासिन्दालाई यस विषयमा सम्झाउन र बुझाउन गाह्रो रहेको स्वास्थ्यकर्मी सुनाउँछन्।

+++

ग्रामीण भेगकै एक महिला शिविरमा आइन्। परीक्षण गर्दा पाठेघरमा समस्या देखियो। तर, स्वास्थ्यकर्मीको कुरामा उनलाई पत्यार लागेन। पछि आफ्नै मनको सन्तोषको लागि स्त्री रोग विशेषज्ञकोमा जचाउँन पुगिन्। डाक्टरले समयमै अस्पताल आएकाले बेलैमा उपचार हुन पाएको बताए। पछि शिविरका स्वास्थ्यकर्मीलाई खोज्दै धन्यवाद दिएकी थिइन् ती महिलाले।

शिविरमा केही महिला आङ खस्ने समस्या लिएर आउँछन्। तर, पछिल्लो समय यो समस्या महानगरभित्र घटेको छ। अहिले अधिकांश ‘एसटीआइ’कै समस्या लिएर आउने गरेको शान्ति सुनाउँछिन् ।

‘केही पाठेघर खस्ने समस्या लिएर आउनुहुन्छ। पहिले पाठेघर खस्ने समस्या धेरै थियो अहिले त्यो समस्या छैन। अहिले धेरै एसटीआइ र पाठेघरको संक्रमणको केस छ,’ उनले भनिन्, ‘यो केशहरु बढी ग्रामीण इलाकामा आउँछ। मजदुरी गर्ने इलाकामा धेरै यस्तो केसहरु भेटिन्छ। ग्रामीण भेग भए पनि उहाँहरुलाई स्वास्थ्यसम्बन्धि यस विषयमा जानकारी केहीलाई छ। तर, उपचार गर्न अप्ठ्यारो मान्नुहुन्छ।’

यौन संक्रमण रोग बाहेक पनि महिलामा हुने पाठेघरको समस्या, गुप्तांगमा संक्रमण अर्को स्वास्थ्य समस्या छ। ग्रामीण भेगमा महिनावारी भएको समयमा सफा कपडा वा प्याडको प्रयोगबारे सचेत नहुँदा गुप्तांगमा हुने संक्रमणको समस्या देखिएको शान्ति सुनाउँछिन्।

‘ग्रामीण भेगमा प्याड प्रयोग नगर्ने समस्या। थोत्रो कपडा अझै पनि प्रयोग गर्ने चलन छ। त्यसले गर्दा पाठेघरमा संक्रमण बढ्ने, समस्या अझै बढी हुने देखिन्छ,’ शान्तिले भनिन्।

महानगरको कार्यक्रमले समस्या पहिचान गरे पनि प्रभावकारी रुपमा समाधान भने गर्न सकिरहेको छैन। ग्रामीण भेगमा अझै पनि यौन स्वास्थ्यसम्बन्धि शिक्षाको सचेतना राम्रोसँग भएको छैन। जसका लागि महानगरले प्रभावकारी रुपमा अभिमुखीकरण कार्यक्रम संचालन गर्नुपर्ने बताउँछिन् शान्ति।

यौन स्वास्थ्यमा महानगरको कम ध्यान 

महानगरले परिवार नियोजन र प्रजनन् स्वास्थ्यसम्बन्धि कार्यक्रम प्रभावकारी रुपमै संचालन गर्दै आएको छ। तर, यौन स्वास्थ्यलाई नै प्राथमिकतामा राखेर महानगरसँग विशेष कुनै कार्यक्रम छैन।

चालु आर्थिक वर्षका लागि महानगरले ‘एसटीआइ’ तथा ‘एड्स’का लागि जम्मा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। स्वास्थ्य कार्यक्रम अन्तर्गत घुम्ती शिविर संचालनमा ल्याएको थियो। तर, अघिल्लो वर्षदेखि कोरोना भाइरस महामारीका कारण शिविर संचालन हुन सकेन।

चालु आर्थिक वर्षका लागि पनि महानगरले रातो किताबमा १० लाख छुट्टाएको थियो घुम्ती शिविरका लागि। तर, आर्थिक वर्ष सकिन लाग्दासम्म बजेट खर्च हुन सकेको छैन।

स्वास्थ्य महाशाखाले दिएको तथ्यांक अनुसार २०७६-७७ मा महानगरमा यौन संचारित संक्रमणबाहेक यौन रोगको समस्याबाट प्रभावित बिरामीको संख्या ९३८ जना थियो। जुन २०७७/७८ मा घटेर ५६७ जना पुगेको थियो। तर, २०७८–७९ को अहिलेसम्मको तथ्यांक अनुसार बिरामीको संख्या पुन: बढेर ६८५ जना पुगेको छ।

यस्तै, २०७६/७७ मा सिफिलसबाट संक्रमतिको संख्या १९५ जना थियो भने २०७७/७८ मा बढेर २४१ जना थियो। यसवर्षको तथ्यांकमा ३२९ जना छ। यौन संचारित संक्रमणसँगै महिला र पुरुष दुवैमा हुने यौन रोगको समस्याबाट २०७६/७७ मा २ हजार ५३९ जना थिए। २०७७/७८ मा १ हजार ४६० जना थियो भने २०७८/७९ मा १ हजार ९५७ जना छन्।

महानगरसँग यसका लागि बेग्लै कार्यक्रम छैन। महिलामा हुने पाठेघरसम्बन्धि रोगका लागि कार्यक्रम महानगरसँग भए पनि सीमित स्रोतसाधन छन्।

स्वास्थ्य महाशाखाकी अस्पताल नर्सिङ निरीक्षक सबिना श्रेष्ठका अनुसार स्वास्थ्यमा पर्याप्त बजेट नहुँदा प्रभावकारी रुपमा काम नभएको बताउँछिन्।

‘पर्याप्त त अलि छैन भन्नुपर्छ किनकि पोखरा महानगरपालिकाले छुट्याएको बजेट गाउँपालिकाले छुट्याएको बजेट जस्तै छ। भीआइए क्लिनिक जसमा बसेर पाठेघरको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्याबारे परीक्षण गर्छौं,’उनले भनिन्,‘ स्रोतसाधन सीमित नै छ त्यसैले चाहिए अनुसार हामीले काम गर्न गाहो छ। यही शिविरमा एसटीआइ भएका बढी केस आउँछन्। हामी उपचारका लागि सल्लाह दिन्छौं।'

महानगर यौन रोगको सचेतना कार्यक्रमका लागि स्वास्थ्य चौकीको मुख ताकेर बसेको छ। यौन रोगसम्बन्धि सचेतना कार्यक्रम स्वास्थ्य चौकीले नै गरिरहेका महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ बताउँछिन्।

‘कोभिडभन्दा अगाडि पाठेघरको समस्या, आङ खस्नेबारे परीक्षण गर्थ्यौं। बिचमा राख्न सकिएन। अस्पतालमा मात्र परीक्षण गराउँदा कति पहुँच पुग्यो कति कभर भएन। तर, यसपाली हामीले राखेका छौं,’ उपप्रमुख गुरुङले भनिन्, ‘अहिले सहज छ। हामीले गर्ने भन्ने योजन छ हुन्छ होला। सचेतना कार्यक्रम त छ तर यहीँ स्वास्थ्यकै लागि भनेर छुट्टै वडा-वडामा छैन तर, वडामा भएका स्वास्थ्य चौकीले सचेतना कार्यक्रम भने गर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell