PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

एसपीपीको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई ओलीको चुनौती



पहिलोपोस्ट

एसपीपीको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई ओलीको चुनौती
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन्। मंगलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन्।

अध्यक्ष ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाए। उनले जन-दबाबको भेललाई शान्त पार्न स्थगित गरेको भनेपनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपीपी सम्झौतामा लाग्ने बताए।

उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, एसपीपी दुई वटा कुरा हो। एउटा अहिले जुन ड्राफ्ट बाहिर आयो, जो बहुत खतरनाक छ। त्यो ड्राफ्ट अहिले नयाँ ड्राफ्ट हो, यो पहिला आएको थिएन र यस्तो ड्राफ्टमाथि कुनै विचार विमर्श भएको थिएन। यस्तो ड्राफ्टको सम्बन्धमा कसैले पत्र लेखेको थिएन। यो नयाँ ड्राफ्ट हो। यो घातक छ। ठिक छ पास गर्छौँ भन्दै हुनुहुन्थ्यो, जनताले दरो दबाब दिएपछि पछि सरेर ठिक छ पास गर्दैनौँ भन्नुभयो।’

अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ढाँट्ने काम गरिरहेको बताए। उनले प्रचण्डले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याँइ बाहेक अरु नभएको बताए।

अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिए। उनले राष्ट्रियता तमासा देखाउने र नखरा गर्ने चिज नभएको बताए। अध्यक्ष ओलीले माओवादी केन्द्रले सभामुख पदमा एमसीसी साटेको आरोप लगाए। उनले गलत छ भनेर जनतालाई उचाल्ने र सदनबाट पास गर्ने काम माओवादी केन्द्रले गरेको आरोप लगाए।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा र आफूलाई जानकारी गराएर कुनै एसपीपी सम्झौतामा हस्ताक्षर नगरेको भन्दै यदी हस्ताक्षर गरेको पाए देखाउन चुनौती दिए। उनले तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री सुशील कोइरालाको पालामा पहिलोपटक एसपीपीको सदस्य हुन पत्र लेखेको र दोस्रो पटक २०७४ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा पत्र लेखेको बताए।

अध्यक्ष ओलीले भने, ‘एकजना नेताले पटक-पटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो। अन्तर्राष्ट्रिय रुपमा पनि ढाँटिरहेका छन्। राष्ट्रिय रुपमा पनि ढाँटिरहेका छन्। केपी ओलीको समयमा ल्याएको थियो, अहिले मैले भुमिका खेलेर मैले रोकेँ। यो भन्दा बढ्ता ढाँट कुरो, यो भन्दा बढ्ता फट्याँइ के हुन्छ? वास्तवमा गल्ती भयो भने गल्ती भयो भन्दा भइहाल्छ नि। गल्ती हुनसक्छ, त्यो स्वीकार्न पाइन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell