PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'भाइरल' ट्रेन्ड बालबालिकाका लागि कति घातक, अभिभावक कति जिम्मेवार?



लक्ष्मी बलायर

'भाइरल' ट्रेन्ड बालबालिकाका लागि कति घातक, अभिभावक कति जिम्मेवार?

काठमाडौं: हिजोआज सामाजिक सञ्जालमा चर्चामा छन् गुल्मीका १० वर्षीय सचिन परियार। केही समयअघि मिठो बोली र गीतका कारण प्रशंसा कमाएका सचिन यसपटक भने बाटोबाटोमा पैसा माग्दै हिँडेको दृश्यले चर्चामा आएका हुन्।

भिडियो प्लेटफर्म युट्युब हुँदै टीकटकसम्म 'भाइरल' भएका बनेका सचिनको चर्चा यति बढ्यो कि उनले राजधानीको राम्रै स्कुलमा पढ्ने अवसरसमेत पाए। तर उनै सचिन अहिले स्कुल छाडेर सडकमा मानिसहरुसँग हात थाप्ने अवस्थामा पुगेका छन्।

***

गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि चर्चामा छाएका थिए सचिन। कलिलो उमेर र मिठो बोलीले सबैको ध्यान खिच्यो पनि। त्यसपछि उनको अन्तर्वार्ता लिन युट्युबरको लाइन नै लाग्यो। सामाजिक सञ्जालमा छाएपछि राष्ट्रिय टेलिभिजनका कार्यक्रममासमेत देखिए उनी। सचिन सोसल मिडियाको प्याल्टफर्ममा छ्यापछ्यापी भेटिए।

के छ हजुर - सचिनको यो थेगो हिट हुन थाल्यो। म्युजिक भिडियोदेखि टेलिश्रृखंलामा काम गर्ने अफर पाए। टेलिसिरियलदेखि म्युजिक भिडियोमा देखिए। अभिनेता राजेश हमालसँग समेत गीतमा कम्मर मर्काउने अवसर पाए। उनलाई लिएर बनाइएका टेलिसिरियल र म्युजिक भिडियो युट्युब ट्रेन्डिङमा समेत उक्लिए।

युट्युब होस् या टीकटकमा, दैनिक नयाँ 'भाइरल पात्र' उदाइरहेकै देखिन्छन्। त्यसैले होला केही समय भने सचिन सोसल मिडियामा देखिएनन्। तिनै सचिन अहिले फेरि एकाएक भाइरल भएका छन्। भाइरल भिडियोमा सचिन दामको खोजीमा देखिन्छन्। सचिनको यो अवस्था देखेर मानिसहरुले उनको बुवा तेजेन्द्रप्रति आक्रोश पोखिरहेका छन्। तेजेन्द्रमाथि आरोप छ - पढाई छुटाएर सचिनलाई बाटोमा पैसा माग्न लगाए।

***

सचिन झैं बेलाबेला अरु बाल कलाकार पनि चर्चामा आउँछन्। अनि विस्तारै गुमनाम हुन्छन्। अशोक दर्जी, कमला घिमिरे, साइलिन श्रेष्ठदेखि पुजा देवकोटासम्म 'भाइरल' को सूचीमा दर्ज भए।

सानैमा चर्चामा आउनेहरु कतिपय विस्तारै गुमनाम हुन्छन्। कति क्षणिक चर्चा कमाएर हराउँछन्। तर सानैमा चर्चामा आउने, सहयोग पाउने र पछि सडकमा पुग्दा बाल मस्तिस्कमा यसको के असर पर्न सक्छ त? धेरैले यसबारे प्रश्न गर्न थालेका छन्। मनोविदहरू यसलाई सामान्य मान्दैनन्। सानैमा चर्चामा छाउनेहरु पाका हुँदा विभिन्न मानसिक समस्या देखा पर्नसक्ने उनीहरु बताउँछन्।

'सानैमा भाइरल हुने बालबालिकामा पछि गएर मानासिक समस्या देखा पर्न सक्छन्। ठूलो हुँदा बच्चामा छँदाजस्तो चर्चा नपाउँदा निराश हुने डर हुन्छ। साथीहरूले पनि पहिले चर्चित थिइस् अहिले किन के भयो भनेर जिस्काउन सक्छन्,' सिविसकी मनोपरामर्शदाता मनिषा धरेल भन्छिन्, 'जसकारण उनीहरूले बुलिङको सिकार हुनुका साथै मानासिक तनाव झेल्नुपर्छ।'

बालबालिकाका लागि विभिन्न रियालिटी शो पनि छन्। रियालिटी शो र मिडियामा पठाउनुअघि अभिभावकले बालबालिकामा भविस्यमा पर्ने असरबारे ध्यान दिनुपर्ने उनको तर्क छ। बालबालिकालाई कुन बाटोमा हिडाउँने भन्ने कुरा अभिभावकले निर्धारण गर्ने सुनाउँछिन् उनी।

'मेरो बच्चालाई कुन बाटोमा डोर्‍याउने भन्ने बुवाआमाले निर्धारण गर्ने हो। आफ्ना छोराछोरीमा के क्षमता छ भन्ने बुवाआमालाई थाहा हुन्छ। बालबालिकालाई टिकटकमा आउन मन छैन भने हामीले जबर्जस्ती गर्नुहुँदैन। सकेसम्म बालबालिकालाई सामाजिक सञ्जाल र मिडियामा ल्याउनुहुन्न। फलानोले छोराछोरी भाइरल भए भनेर अभिभावकले दबाव दिनुहुँदैन,' उनले भनिन्।

धरेलका अनुसार सानैमा चर्चामा आउँदा बालबालिकाको मानसिक विकासमा ह्रास ल्याउँछ। उनीहरुमा एकोहोरोपन र निराशापन बढाउँछ। बालबालिकालाई अर्थसँग सम्बन्धित कुनैपनि मनोरञ्जनात्मक गतिविधिमा जोड्नु गलत ठान्छिन् उनी। मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार भएता पनि पैसाको लागि मनोरञ्जन क्षेत्रमा प्रयोग गर्नु बालशोषण हुने बताउँछिन् उनी।

‘हामी बाल श्रमशोषणको कुरा गर्छौँ। अरूतिर काम गर्दा बालशोषण जोडिन्छ। इन्टरटेनमेन्टमा किन जोडिदैन? त्यसैले बालबालिकालाई मिडिया र विज्ञापनमा प्रयोग नै नगरौँ,’ धरेलको भनाई छ।

उनका अनुसार मानसिक असर बालबालिकाको स्वभावले पनि निर्धारण गर्छ। भन्छिन्, ‘यस्ता कुराले कति असर पर्छ भन्ने कुरा बालबालिकाको स्वभावमा भर पर्छ। कुनै बालबालिकालाई भाइरल कुराले खासै असर पार्दैन। तर कसैलाई भने यस्ता कुराले निकै असर पार्छ। उनीहरू सानैमा पढाई छोडेर यतैतिर चासो दिइरहेका हुन्छन्। जसले पढाई पनि बिग्रिन्छ। त्यसैले, बालबालिकाको स्वभाव बुझेर अभिभावकले त्यसै अनुसारको व्यवहार गर्नुपर्छ। टिकटक र विज्ञापनमा प्रयोग गरिरहदा त्यसले मेरो छोराछोरीलाई के असर गर्छ भनेर अभिभावकले सोच्नुपर्छ।’

कोरोना महामारीसँगै डिजिटल प्रविधिको प्रयोग बढ्दो छ। कोरोना कहरमा विद्यालय र कलेजको पढाईसमेत अनलाइनबाटै सञ्चालन भयो। जसले अभिभावक पनि बाध्य भए बालबालिकालाई मोबाइलको पहुँचमा पुर्‍याउन। तर यसले बालबालिकामा मोबाइलको लत लागेको र असर परिरहेको धरेल सुनाउँछिन्। यसर्थ, विद्यालयले पनि अब अनलाइनभन्दा भौतिक कक्षामै बढी जोड दिनुपर्ने उनको धारणा छ।

आफ्नो संस्थाले पनि विद्यालयसँग मिलेर बालसंरक्षण सम्बन्धि विभिन्न किसिमका काम गरिरहेका उनले बताइन्। तर यस्ता भाइरलका कारण पीडित बालबालिका घटना अहिलेसम्म नआएको बताउँछिन् उनी। ‘हामीकहाँ यस्ता घटनाहरू आएका छैनन्। हाम्रो सम्पर्कमा पीडित नआएसम्म यस्ता विषयमा काम गदैनौँ। पहिलो प्राथमिकता राज्यको हो। भाइरलबाट पीडित भएका बालबालिकालाई हेर्नुपर्छ। हामीलाई कतैबाट यी बालबालिका पीडामा छन् भनेर सूचना आयो भने हामी अवश्य काम गर्छौँ,’ उनले भनिन्।

***

बालबालिकालाई जबर्जस्ती भाइरल बनाउनु राम्रो नभएको बताउँछन् मार्क नेपालका अध्यक्ष तथा मनोविद् गोपाल ढकाल पनि। बालबालिकाको हकमा कसैलाई त्यसरी प्रयोग गरेर आर्थिक कमाई गर्नु बालबालिकाको हकविपरित हुने उनको भनाई छ। क्षणिक भाइरल हुने आशमा यो कुरा अभिभावकले पनि नबुझेको उनको आरोप छ।

‘सानैमा भाइरल हुने बालबालिकाको मनोविज्ञानमा प्रतिकुल असर पर्छ। पछि गएर उनीहरूको पढाईप्रतिको लगावमा कमी आउने र महत्त्वकांक्षी बन्ने हुन्छन्। एकचोटि भाइरल हुँदैमा सधैँ चर्चा पाइन्छ भन्ने हुँदैन,' ढकाल भन्छन्, 'पहिलेको नाम दाम सोचेर यसले बालबालिकामा निराशापन ल्याउन सक्छ। उनीहरूले साथीबाट बुलिङको सिकार सामना गर्नुपर्ने हुन्छ। जसकारण बच्चाहरु कुण्ठित भएर डिप्रेसनमा पनि जान सक्छन्।’

यस विषयमा अभिभावक नै बढी सचेत हुनुपर्ने ढकालको तर्क छ। अहिलेका अभिभावकहरूमा आफ्ना छोराछोरीलाई जबर्जस्ती भाइरल बनाउने होडबाजी चलेको सुनाउँछन् उनी।

‘अहिलेका आमाबुवामा आफ्ना छोराछोरीलाई भाइरल बनाउन अनेक गर्छन। जुन बालअधिकार विरूद्ध हो। पहिलो त बालबालिकालाई एक्पोज गर्नु नै उनीहरूको हक/अधिकारको हनन हो,’ उनले भने, ‘दोस्रो बालबालिकाको सुरक्षालाई पनि असर पुग्छ। चर्चित हुँदा विभिन्न ठाउँ जानुपर्ने हुन्छ। जसले बालबालिका विभिन्न दुर्व्यवहार र समस्यामा पर्न सक्छन्। भाइरल त हुने हो, किन पढ्नुपर्‍यो भन्ने सोच आउन सक्छ उनीहरूमा। जसले उनीहरू जे सुकै गर्न तयार हुन्छन्। ती कुरालाई पनि आमाबुवाले ख्याल गर्नुपर्छ।’

मिडिया पनि सचेत हुन आवश्यक

सचिनले पैसा मागिरहेको उक्त भाइरल बनेसँगै यतिखेर युट्युब र मिडियाहरूमाथि पनि खनिन थालेका छन् सर्वसाधारण। युट्युबले भ्युज र पैसा कमाउन बालबालिकालाई प्रयोग गरेको उनीहरुको आरोप छ। 'युट्युबेहरुले भाइरल बनाएर डलर कमाउनु कमाए अनि अन्तिममा सडकमा माग्ने बनाएर छोडेछ्न सचिन परियार लाई,' एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्। कतिपयले मिडियामाथि बालबालिका दुरुपयोगको मुद्दा चलाउनसमेत माग गरेका छन्। बालबालिकालाई भाइरल गर्नमा पनि मिडियाको नै ठूलो हात रहेको बताउँछन् गोपाल ढकाल।

तर मिडिया तथा युट्युबरले बालबालिकाको कन्टेन्टमा भिडियो र समाचार पोस्ट गर्दा उसलाई के असर गर्छ भन्नेबारे ख्याल गर्नुपर्ने बताउँछन् ढकाल। त्यसो त अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यसप्रकारको विषयबस्तु बनाउन र फैलाउन मद्दत पुर्‍याइरहेका हुन्छन्। यसबारे सामाजिक सञ्जाल प्रयोगकर्ता पनि सचेत हुनैपर्ने देखिन्छ।

आर्थिक आम्दानी र भ्युजको लागि बालबालिकालाई प्रयोग गर्नु गलत भएको ढकालको भनाई छ। ‘मिडियामा काम गर्नेले बालबालिकासम्बन्धी कन्टेन्ट तयार पार्दा निकै सचेत हुनुपर्छ। त्यसले स्वयं व्यक्ति र समाजलाई पार्ने असरबारे जानकार हुनुपर्छ। बालबालिकालाई मनोरञ्जनको साधन बनाउन मिल्दैन। भोलि उसले मिडियामा बच्चा छँदाको केही कुरा देख्यो भने उसलाई आघात पुग्न सक्छ,’ ढकालले भने।

धरेल पनि मिडिया पनि बालमैत्रीपूर्ण हुनुपर्ने बताइन्। ‘बालबालिकाको प्रतिभा बाहिर ल्याउन मिडिया र रियालिटी शोहरू राम्रो हो। तर कलालाई अर्थसँग जोडिनु भएन। मिडियाले पनि बालबालिकाका विषयमा सचेत बन्नुपर्‍यो। युट्युबरले पनि कुदेर अन्तर्वार्ता लिन जानुभएन। सामाजिक सञ्जाल प्रयोग कर्ताले जथाभावी भिडियो लिने र पोस्ट गर्ने काम गर्नुभएन,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell