PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

आफ्ना मन्त्रीलाई माधव नेपालले सिकाए आचरण, यसअघिका मन्त्री विवादको घेरामा पर्दा नयाँले गर्लान पालना?



प्रकाश भण्डारी

आफ्ना मन्त्रीलाई माधव नेपालले सिकाए आचरण, यसअघिका मन्त्री विवादको घेरामा पर्दा नयाँले गर्लान पालना?

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीलाई विवादमा नपर्न निर्देशन दिएका छन्। पार्टी कार्यालय आलोकनगरमा ४ जना मन्त्री र एक जना राज्यमन्त्री बोलाएर नेपालले सरकार संचालनबारे 'ब्रिफिङ' गरेका हुन्।

समाजवादीका तर्फबाट असार १२ गते प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी प्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका थिए। हीराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी छन्। 

के सिकाए नेपालले?

अध्यक्ष नेपाल र पार्टीका महासचिव डा.वेदुराम भुसालले मन्त्रीहरुलाई गर्न हुने र नहुने काम बारे प्रशिक्षण दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले जानकारी दिए। ‘राम्रोसँग काम गर्नु होला। पार्टीको नामलाई उच्च बनाउनु पर्‍यो। कुनै पनि खालका विवादहरुमा पर्नु भएन। डेलिभरी राम्रो हुनुपर्‍यो भनेर अध्यक्षले निर्देशन दिनुभयो,’ श्रेष्ठले भने। 

फिर्ता गराइएका मन्त्रीको चर्को आलोचना

आज नवनियुक्त मन्त्रीहरुलाई सरकारमा रहेर गर्न हुने/नहुने कामबारे निर्देशन दिएका नेपालले सरकारबाट फिर्ता बोलाइएका मन्त्रीहरुको भने आलोचना गरेका थिए। ‘पहिलाको मन्त्रीहरुको कामबाट पार्टी सन्तुष्ट हुन सकेन भनेर पनि अध्यक्षले भन्नुभएको थियो, ‘श्रेष्ठले भने। 

यसअघि सरकारमा सहभागी भएका मन्त्रीहरुको काम एकपछि अर्को विवादमा परेको भन्दै अहिले सरकारमा सहभागी मन्त्रीलाई पाठ सिक्न नेपालले निर्देशन दिएका हुन्। पार्टीको इज्जतमा दाग लाग्ने कुनै पनि काम सरकारमा बसेर नगर्न पनि नेपालले निर्देशन दिएका थिए। सरकारबाट फिर्ता बोलाउन पार्टीले जेठ २२ गते गरेको निर्णयलाई उल्लंघन गरेको भन्दै पूर्व मन्त्रीहरुप्रति नेपाल आक्रोशित छन्। 

मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय विवादमा परेको थियो। संसदमा बजेटमाथि छलफल भइरहेकाबेला आफूहरुलाई जानकारी नै नगराइ नेपालले फिर्ता बोलाएकोमा मन्त्रीहरु रुष्ट बनेका थिए। उनीहरुले नेपालको निर्णयलाई तत्काल कार्यान्वयन नगराउन गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए। जसकारण एकीकृत समाजवादीको निर्णय कार्यान्वयनका लागि तीन हप्ता लागेको थियो।

यसअघि पनि दिएका थिए माधव नेपालले निर्देशन

२०७८ असोज २४ गते पनि नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई निर्देशन दिएका थिए। त्यतिबेला पनि पार्टी कार्यालयमा बोलाएर नेपालले मदिरा सेवनबाट मन्त्रीहरुलाई टाढा रहन निर्देशन दिएका थिए।

‘बेलुका बेलुका फाइभ स्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरुसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस्। महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस्,’ नेपालले आफ्ना पार्टीका तर्फबाट सरकारमा पहिलोपटक सहभागी भएका मन्त्रीलाई भनेका थिए। अध्यक्ष नेपालले आफ्ना पार्टीका मन्त्रीलाई निर्देशन दिने गरेको भए पनि यसअघि सरकारमा सहभागी भएका मन्त्रीहरुबाट भने उक्त निर्देशन कमै मात्र पालना भएको थियो।

पहिलाकाले वास्तै गरेनन्, अबकाले के गर्लान? 

एकीकृत समाजवादीका मन्त्रीहरु अरु पार्टीका मन्त्रीभन्दा बढी नै विवादमा तानिएका थिए। त्यसमध्य पनि निवर्तमान पर्यटन मन्त्री प्रेम आले सबैभन्दा बढी विवादमा तानिए। जसलाई आलेले स्वीकारेका पनि छन्।

जेठ १२ गते मन्त्रीबाट राजीनामा गरेको बारे जानकारी गराउने आयोजित पत्रकार सम्मेलनमा आलेले भनेका थिए, ‘जनजातीको छोरो जे बोल्छु सिधा बोल्छु। यसबाट कुनै गल्ति भएको भए क्षमा चाहन्छु।’ आलेले बेला बेलामा अश्लिल कुरा बोलेको अडियो प्रकरणमा विवादमा परेका थिए। उनको बोलीलाई लिएर संसदमा राजीनामा मागिएको थियो भने एकीकृ समाजवादीका नेताहरुले तत्काल हटाउन अध्यक्ष माधव नेपालसँग लबिङ गरेका थिए।

नेपालले सिकाएको आचरण विपरित विवादमा पर्ने अर्की पूर्व मन्त्री रामकुमारी झाँक्री पनि हुन्। उनले 'पिर्के सलामी' लिएको भन्दै विवादमा परेकी थिइन। पहिला आफैले पिर्के सलामीको विरोध गरेको र मन्त्री भएपछि फेरि आफैले लिएको भन्दै उनको आलोचना भएको थियो। यद्यपि, उनले सरकारमा बसेपछि प्रथाको सम्मान गर्नुपर्ने स्पष्टीकरण दिएकी थिइन्। पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा पनि कोभिड-१९ विरुद्धको खोपमा विवादमा परेका थिए। 

अर्कोतिर नेपालले काम गरेर देखाउन दिएको निर्देशन पनि मन्त्रीहरुले खासै पालना गरेका थिएनन्। किनभने एकीकृत समाजवादीका चारै जना मन्त्रीहरुको काम औसत् भन्दा माथि जान सकेन। जसलाई पार्टीका नेताहरुले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउनुको एउटा कारण भएको बताएका छन्। पहिलो पटक सरकारमा सहभागीले आफ्नो निर्देशनको पालना नगरेको भन्दै असन्तुष्ट बनेका नेपाललाई अहिले सरकारमा सहभागी मन्त्रीले सन्तुष्ट बनाउलान कि नबनाउँलान् त्यो भने मन्त्रीहरुको काम बाटै थाहा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell