
छुट्टी मनाउन माल्दिभ्स पुगेका एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले छोरासँग चेस खेल्दै गरेको एउटा तस्बीर सामाजिक सञ्जालमा राखेपछि ट्रोलमा परेका छन्। तस्बिरलाई लिएर उनीमाथि यति धेरै ट्रोल भयो कि उनले सामाजिक सञ्जालबाट त्यो पोस्ट हटाइसकेका छन्।
उनले घाममा आफ्ना छोरासँग बसेर चेस खेलिरहेको तस्बिरमा क्याप्सनमा पारिवारिक छुट्टीमा आएको र, 'एल चोलो' खेल खेलेको जसमा धेरै एकाग्रताको आवश्यकता पर्ने उल्लेख गरेका छन्।
उक्त तस्बिरमा उनले 'राजा' बिना नै चेस खेलिरहेका छन्, जुन सम्भव छैन। उनको पोस्टमा अन्तर्राष्ट्रिय चेस फेडेरेसनले समेत टिप्पणी गर्दै चेसको कोर्स सिकाउने र आयोजना हुन लागेको प्रतियोगितामा सहभागिताका लागि समेत निमन्त्रणा दिएको छ।
सामाजिक सञ्जालमा उनले 'पार्क द बस' शैलीमा खेलेर राजा लुकाएको भन्दै मजाक उडाएका छन्। 'फर्वाडबिनै फुटबल खेलाउनेका लागि यो अनौठो कुरा होइन' अर्का प्रयोगकर्ताले लेखेका छन्। 'उनले चेसमा नहार्ने विधि पत्ता लगाएका छन्' अर्का प्रयोगकर्ताले टिप्पणी गरेका छन्।
उनले समान दुई लालिगा र युरोपा लिग आफ्नो टिमलाई दिलाउँदा एकपटक कोपा डेलरे दिलाएका थिए। त्यस्तै आफ्नो टिमलाई दुईपटक च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन सफल भएका थिए।