
काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म १४ जनामा हैजा देखिएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले नियमित पत्रकार सम्मेलनका क्रममा असार २ गते देखि आजसम्म विभिन्न विधिबाट परीक्षण गर्दा १४ जनामा हैजा देखिएको जानकारी दिएकी हुन्। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा हैजाको संक्रमण पुष्टि भएको हो।
हैजा नियन्त्रणका लागि हाल उपत्यकाका विभिन्न स्थानमा पानीको परीक्षण भइरहेको उनले बताइन्। उपत्यकामा हैजाको रोकथाम र नियन्त्रणका लागि जार, बोतल, तथा ट्याङ्कर व्यवसायीले वितरण गरेको पानीको गुणस्तर अनुगमन गर्न खाद्य अनुगमन तथा गुणस्तर नियन्त्रण विभाग, जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले परिचालन भएको छ।
मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गर्दै आएको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो। उपत्यकामा प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र मिश्राले अनुरोध गरेकी छिन्।
काठमाडौं महानगरपालिकाले हैजा रोगबारे सूचना संकलनका लागि हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको छ। महानगरले ११८० मा टेलिफोन गरेर आवश्यक जानकारी लिने व्यवस्था गरेको हो। काठमाडौं र ललितपुर महानगरले ठेलागाडामा खानेकुरा बेच्न रोक समेत लगाएको छ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार हैजामा पेट दुख्ने, वान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा आउने जस्ता लक्षणहरु देखिन्छन्। मन्त्रालयका अनुसार यसरी घरमै उपचार गर्न सकिन्छ। घरमै उपचार गर्ने पाँच तरिका :
१) झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने।
२)प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने।
३) नरम तथा सजिलै पच्ने खानेकरा थोरै थोरै गरी पटक पटक खुवाइरहने
४) स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नबिराइकन खुवाउने
५ )व्यक्तिगत सरसफाईमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने
यद्यपि स्वास्थ अवस्था बिग्रिँदै गएको खण्डमा भने तुरुन्त स्वास्थ्य संस्था लैजान मन्त्रालयले सुझाएको छ।
कस्तो लक्षण देखिएमा स्वास्थ्य संस्था जाने?
• खान पिउन नसक्ने गरी बिरामी भएमा
• दिसामा रगत देखा परेमा
• बारम्बार बान्ता भइरहेमा
• ज्यादै तिर्खाएमा
• ज्वरो आएमा
• धेरै पटक पातलो दिसा गरेमा
यसरी बच्न सकिन्छ पखालाबाट
• चर्पीमा मात्र दिसा पिसाव गर्ने
• दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने
• खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने
• पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने
• बासी, सडेगलेको, किंगा भन्केको खानेकुरा नखाने
• खानेपानीको मुहान सफा र सुरक्षित राख्ने