PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

विपद् प्रतिकार्यका लागि पूर्व तयारी गरेर बस्न सरोकारवाला निकायलाई गृहमन्त्री खाणको निर्देशन



पहिलोपोस्ट

विपद् प्रतिकार्यका लागि पूर्व तयारी गरेर बस्न सरोकारवाला निकायलाई गृहमन्त्री खाणको निर्देशन
फोटो : न्युज एजेन्सी नेपाल।

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले विपद् प्रतिकार्यका लागि पूर्व तयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्। बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाणले विपद्को पूर्व तयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताए।

उनले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, आवतजावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिए। प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरुलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भुमिका निर्वाह गर्न पनि उनले निर्देशन दिए।

उनले भने, ‘अहिले फेरि वर्षाले नोक्सान गर्न थालिराखेको छ। बाटो अवरोध हुँदाखेरी भौतिक विकास र आर्थिक क्रियाकलापमा पनि गम्भीर क्षति पुर्‍याउँछ। मानवीय अत्यावश्यक गतिशीलतापनि त्यसले ठप्पै पारिदिन्छ। बिरामीदेखि लिएर अन्य महत्वपूर्ण कार्यका लागि घरबाट निश्चित गन्तव्यका लागि प्रस्थान गरेका नागरिकहरुको यात्रा पनि अवरोध हुन्छ। त्यसकारणले हामीले ठाउँ-ठाउँमा पूर्व तयारी गरेर बस्ने र हाम्रा सामग्रीहरु पनि जुन उपलब्ध छन्, तिनलाई पनि तयारी अवस्थामा राख्ने। कहीँ त्यस्तो खालको प्रभाव परिहाल्यो भने तत्काल राज्य त्यहाँ पुगेर गर्नुपर्ने भुमिका निर्वाह गरिहाल्ने।’

उनले विपद्को समयमा सूचना र सञ्चारको तत्काल आवश्यकता पर्ने भन्दै यसतर्फ दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराए। उनले सरकारको मातहतका सरोकारवाला निकायहरुको पूर्व तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै अहिले गरिएको तयारीले विपद्को सामना गरी नागरिकको जीवन रक्षा गर्नसक्ने विश्वास व्यक्त गरे।

‘दूरसञ्चारको ठूलो भुमिका हुन्छ। आपतको बेलामा सूचना र सञ्चार चाहिन्छ। मौसम प्रतिकूल भएको बेलामा, प्राकृतिक विपद्को बेलामा सूचना र सञ्चार पनि अवरुद्ध हुन्छ। त्यसलाई तत्कालका लागि जे अवस्था छ त्यो अवस्था सामना गरेर छिटो राहत र छिटो सहजीकरण गर्ने दायित्व हो। आउने दिनहरुमा यसका वैकल्पिक उपायहरु पनि खोज्नुपर्ने हुन्छ होला। सायद त्यो भइपनि राखेको छ। नेपाल सरकारका विभिन्न विभाग, प्रतिष्ठान, संस्थान र प्राधिकरणले गरेको तयारी सन्तोषजनक छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell