PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

फर्जी शिक्षक नियुक्ती गरेका हेडसर बल्ल प्रशासनमा हाजिर : १८ लाख असुलेर ९ जनालाई नियुक्ती



राधेश्याम पटेल

फर्जी शिक्षक नियुक्ती गरेका हेडसर बल्ल प्रशासनमा हाजिर : १८ लाख असुलेर ९ जनालाई नियुक्ती

वीरगंज : पर्साको वीरगंज महानगरपालिकामा लाखौं रकम लिएर ९ जना शिक्षक नियुक्ति गरेका हेडसर अन्तत: जिल्ला प्रशासन कार्यालय पर्साको शरणमा परेका छन्। यसअघि जिल्ला प्रशासन कार्यालयको विभिन्न पत्र र निर्देशन अटेर गर्दै आएका वीरगंज महानगरपालिका–३ प्रगतिनगरस्थित महानगर आधारभूत विद्यालयका पूर्वप्रधानाध्यपक उमेश ठाकुर बुधवार प्रशासनमा उपस्थित भएका हुन

जिल्ला प्रहरी कार्यालयले उनलाई उपस्थित हुन पटक पटक निर्देशन दिएका थिए। यसअघि जिल्ला प्रशासन कार्यालय, पर्साले ठाकुरको नाममा, वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको नाममा उपस्थित हुनुपर्ने पत्र तथा निर्देशन दिए तापनि उनले अटेर गर्दै आएका थिए।

त्यसपछि जिल्ला प्रशासनले उनलाई यथाशीघ्र उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयको नाममा असार १ गते पत्राचार गरेको थियो। एक वर्षअघि पूर्व मेयर विजय सरावगीको पालामा ठाकुरले महानगर आधारभूत विद्यालयमा छ जना शिक्षक र तीन जना बाल विकास गरी ९ जनाको फर्जी नियुक्ति गरेको भेटिएको छ। महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले दरबन्दी दिने मौखिम आश्वासन दिएपछि ठाकुरले एक जनासँग दुईदेखि तीन लाखसम्म घूस लिएर ९ जनाको फर्जी नियुक्ति गरेका थिए।

नियुक्ति भएको करिब छ महिनासम्म तलब भत्ता नपाएपछि ती कर्मचारीले गत माघ ४ गते तलबभत्ताको माग गर्दै प्रशासनमा उजूरी दिएपछि फर्जी शिक्षक नियुक्ति प्रक्रियाको घटना सार्वजनिक भएको थियो। त्यसपछि उक्त विद्यालयको प्रअको कार्यकक्षमा राति आगजनीसमेत भयो। फर्जी शिक्षक प्रक्रियाको प्रमाण मेटाउन ठाकुरले नै उक्त घटना घटाएको हुनसक्ने आशंका गरिएको छ। घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ।

घूस लिएर फर्जी नियुक्त गरिएका शिक्षकहरुमा आनन्दप्रसाद साह, अविनाश कण्ठ, तेजनाथप्रसाद जयसवाल, ममता पटेल, मुन्नीकुमारी श्रीवास्तव, नवनीता मल्लिक, प्रियड्ढाकुमारी यादव, वन्दनाकुमारी कर्ण र पूजाकुमारी साह छन्। प्रअ ठाकुरले जिप्रका, पर्सामा उपस्थित भएर बयान दिएको र बयानपछि अनुसन्धान अगाडि बढाइने जिप्रका, पर्साले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell