
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १८औं बैठक अवरोध गरेयता प्रदेशसभा बैठक संचालन हुन सकेको छैन। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सदस्यहरुले चालु तथा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ यही असार १२ गते १७औँ बैठकमा दिएका थिए।
३० मिनेट बैठक स्थगित पश्चात् सुरु भएको १८औं बैठकमा सुरुवातमै प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८-७९ को बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको जनाउँदै विरोध गरेका थिए।
चालु आर्थिक वर्ष २०७८-७९ को बजेट कार्यान्वयनका सवालमा सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति कार्यान्वयन नगरेको, आगामी आर्थिक वर्ष २०७९-८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्लासमेत कर्णालीको बजेटमा समेटेर ल्याएको बजेटमा भन्दै बैठक संचालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको थियो।
बैठक संचालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक-पटक बस्दा पनि सहमति हुन नसक्दा असार १२ गतेदेखि स्थगित बैठक आजसम्म संचालन हुन सकेको छैन। स्थगित सदन संचालनका लागि आज सर्वदलीय बस्ने तयारी रहेको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले जानकारी दिए।