
फर्डिनान्ड मार्कोस् जुनियरले फिलिपिन्सको राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका छन्। मनिलामा आयोजित एक समारोहमा फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको स्थान मार्कोस जुनियरले लिएका हुन्।
उनको सपथ ग्रहणले मार्कोस राजनीतिक राजवंशको आश्चर्यजनक पुनरागमनलाई देखाएको छ। १९८६ को प्रख्यात विद्रोहपछि मार्कोस राजवंश पदच्यूत भएको थियो।
बोङबोङको उपनामले चिनिने मार्कोस जूनियर गत महिना राष्ट्रपतिमा निर्वाचित भएका थिए।
सो क्रममा श्रीमती र तीन छोराहरूको साथमा मार्कोस जुनियरले जेट लडाकुहरूको हवाई प्रदर्शन र फिलिपिन्सका विभिन्न बर्दीधारी कर्मचारीहरूको मार्च-पास परेड अवलोकन गरेका थिए।
राष्ट्रपतिको रूपमा पहिलो भाषणमा उनले आफ्नो जितलाई ‘फिलिपिन्सको लोकतन्त्रको इतिहासमा सबैभन्दा ठूलो चुनावी जनादेश’ भनेर वर्णन गर्दै जनतालाई धन्यवाद दिएका थिए।
त्यस्तै, निवर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेकी छिन्।