PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

बालकोट पुगेर वामदेवले ओलीलाई सुनाए आफ्नो पार्टीको निर्णय, थप के भयो कुराकानी?



पहिलोपोस्ट

बालकोट पुगेर वामदेवले ओलीलाई सुनाए आफ्नो पार्टीको निर्णय, थप के भयो कुराकानी?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव गरेका छन्। बिहीवार बिहान ओली निवास बालकोटमा पुगेर गौतमले एमाले,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई एकता गरेर नेकपा व्युँताउने प्रस्ताव गरेका हुन्।

एकता अभियानका सचिवालय सदस्य निमकान्त पाण्डेले गौतमले एकताको प्रस्ताव गरेको जानकारी दिए। ओली र गौतमबिच एकताका बारेमा छलफल भए पनि ओलीले भने आफ्नो पार्टीमा छलफल गरेरमात्रै जवाफ दिने बताएका थिए। 'एकताका लागि हाम्रो तर्फबाट प्रस्ताव भयो। अब उताबाट पार्टीमा छलफल गर्छु भन्ने कुरा भएको छ,' पाण्डेले भने। 

ओलीलाई निर्णयको जानकारी

एकताका लागि प्रस्ताव गरेका गौतमले आफ्नो पार्टीले गरेको निर्णयबारे ओलीलाई जानकारी गराएका थिए। आफूले नयाँ पार्टी बनाएको र उक्त पार्टीको उद्देश्य कम्युनिस्ट एकता भएको गौतमले बताएका थिए।

'हाम्रो पार्टीले यस्तो यस्तो निर्णय गरेको छ भनेर जानकारी गराउनुभयो। पार्टी एकीकरणको प्रयास गर्ने भनेर निर्णय भएको छ। तपाइको तर्फबाट केही छ कि भनेर गौतमले भन्नुभयो,'पाण्डेले दुई नेताबिचको छलफललाई उदृत गर्दै भने। सम्भाव भए नेकपा व्युँताउने त्यो नभए वाम मोर्चा बनाउने र त्यो पनि सम्भव नभए चुनावी मोर्चा बनाएर अघि बढ्नुपर्ने प्रस्ताव गौतमको छ। 

अरु नेतासँग पनि टेलिफोनमा छलफल

गौतमले एकताका लागि अरु नेताहरुसँग पनि टेलिफोनमार्फत छलफल गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पनि फोनमा कुराकानी भएको पाण्डेले बताए। एकता अभियानले अब लगातार नेताहरुसँग छलफल गरेर पार्टी एकताको वातावरण निर्माण गर्ने रणनीति बनाएको उनले जानकारी दिए।

गौतमले असार १४ गते नयाँ पार्टीको घोषणा गरेका थिए। घोषणा कार्यक्रममा उनले एकता गर्ने र एकता भएमा आफ्नो पार्टी एकता भएको शक्तिमा बिलिन हुने बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell