
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ६४औँ संसद् दिवसको अवसर पारेर बिहीवार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गर्दै अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्।
उनले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गरे। संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता समेत औँल्याए।
उनले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौँ। हामी सबै मिलेर यस यात्रालाई चाँडै टुंगोमा पुर्याई नेपाललाई विकसित र समुन्नत राष्ट्रको रुपमा स्थापित गर्नु हामी सबैको दायित्व हो। गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भईसकेको छ। यसैवर्ष प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ।’