PahiloPost

Jul 4, 2025 | २० असार २०८२

सुदूरपश्चिमको कुन जिल्लामा कति भयो धान रोपाइँ ?



पहिलोपोस्ट

सुदूरपश्चिमको कुन जिल्लामा कति भयो धान रोपाइँ ?

डोटी : यो वर्ष हालसम्म सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०-४० प्रतिशत, कैलाली र बाजुरामा ३५-३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ।

यस प्रदेशमा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आए पनि असार १५ गतेसम्म प्रदेशका नौवटै जिल्लामा ४३ प्रतशित क्षेत्रमा मात्रै रोपाइँ सकिएको हो। कैलालीमा ७१ हजार ७०० हेक्टर, कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ ।

प्रदेशका नौवटै जिल्लामा सिँचाइको सुविधा नभएकाले वर्षाको पानीले रोपाइँ गर्नुपर्ने बाध्यता छ। ढिलोगरी रोपाइँ सुरु भएकाले धान उत्पादन कम हुने चिन्ता गरिएको छ। उक्त निर्देशनालयका अनुसार यस वर्ष अन्य वर्षको तुलनामा समयमै वर्षा नभएका कारण धान रोपाइँमा ढिलाइ भएको हो। समयमै पानी नपरेका कारण यहाँका ५५ प्रतिशत खेत बाँझै रहेको निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए।

पछिल्लो केही दिनयता वर्षा हुन सुरु भएपछि रोपाइँ गर्ने प्रतिशत बढ्न थालेको जनाइएको छ। डोटीलगायत समग्र सुदूरपश्चिममा असार पहिलो साताबाटै रोपाइँ गरिने भए पनि आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका यहाँका किसान भने बल्ल धान रोपाइँको काममा लागेको शिखर नगरपालिका-२ का रामबहादुर दडीवानाले बताए। उनले भने, ‘असार पहिलो सातादेखि जिल्लामा रोपाइँको निकै चटारो हुने गर्दथ्यो, ढिला वर्षा भएकाले बल्ल रोपाइँ सुरु भएको छ, अब यो वर्ष खेती पनि ढिलै पाक्छ होला।’

जिल्लाको दिपायल, सिलगढी, कालागाढ, जोरायल, बिपीनगर, बर्छैन, बडिकेदार, बोगटान, पूर्वीचौकी, सायल, आदर्श, मौवा, गड्सेरालगायत क्षेत्रमा अहिले धान रोपाइँले किसानलाई भ्याइनभ्याई भएको किसानहरु बताउँछन्। सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका यहाँका धेरै किसान अहिलेसम्म पनि आकाशे पानीको भरमा रोपाइँ गर्ने गर्छन्।

पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुने गरेको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आङ्शिक सिँचाइको मात्रै सुविधा छ। यतिमात्रै नभई रासायनिक र डिएपी मल अभावले यहाँका किसानलाई झनै समस्या थपिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell