PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मुख्यमन्त्री फेर्न दबाब दिन काठमाडौं आउँदै बानियाँ, राजेन्द्र पाण्डेविरुद्ध कांग्रेस र माओवादीले संकलन गर्‍यो हस्ताक्षर



निशा गुरुङ

मुख्यमन्त्री फेर्न दबाब दिन काठमाडौं आउँदै बानियाँ, राजेन्द्र पाण्डेविरुद्ध कांग्रेस र माओवादीले संकलन गर्‍यो हस्ताक्षर

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनबिच भएको सहमति पालना नगरेको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरु आक्रोशित भएका छन्।

नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री पाण्डेले ६ महिना पद सम्हाल्ने र त्यसपछि कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व दिने सहमति गठबन्धनमा भएको थियो। तर, पाण्डेले सहमति अनुसार सहजै पद नछोड्ने भएपछि उनीविरुद्ध माओवादी केन्द्र र कांग्रेसले हस्ताक्षर संकलन गरेका हुन्।

गठबन्धनमा आधा कार्यकाल पाण्डे र आधा कार्यकाल कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।

पाण्डे गत कात्तिक ११ गते सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका थिए। आगामी आर्थिक वर्ष २०७९-८० को बजेट पास भएपछि कांग्रेसलाई सत्ता सुम्पिने लिखित सहमति गरेका उनले पछिल्लो समय सार्वजनिक रुपमै सरकार परिवर्तन नहुने बताउँदै आएका थिए।

उनी ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई माओवादीको २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टी (जसपा)को एकसहित ५९ सांसदको समर्थन रहेको थियो।

कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरे पनि पाण्डेले भने केन्द्रीय नेतृत्वको निर्देशनपश्चात मात्र पछाडि हट्ने भनेर पन्छिएको कांग्रेसका एक सांसदले बताए। सोही कारण अहिले हस्ताक्षर संकलन गरिएको उनले बताए। उनका अनुसार हस्ताक्षर संकलन गरेर बानियाँ आज नै काठमाडौं जाने तय भएको छ। काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मुख्यमन्त्री फेर्न उनले दबाब दिने बताइएको छ।

हाल माओवादी केन्द्र र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell