काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित गर्ने तयारी सरकारले गरिरहेको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसमेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशन भित्रै पारित हुने बताएका हुन्।
‘नागरिकता ऐन अहिले सरकारको र प्रमुख प्रतिपक्षको पनि प्रमुख सरोकार र सबै दलहरुको पनि प्रमुख सरोकारको विषय हो। केवल सरकारको मात्रै होइन। यसलाई जसरी पनि यही अधिवेशनमा ब्रेक थ्रू गर्ने गर्ने कुरालाई चाँही सरकारले गरिरहेको छ र यसमा प्रमुख प्रतिपक्षी एकदमै सकारात्मक हुनुहुन्छ। म उहाँहरुको त्यो सकारात्मक कुरालाई एप्रिसिएट गर्न चाहन्छु,’ उनले भने।
६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकता ऐन सम्बन्धि विधेयकमा धेरै विवादहरु रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए। राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा धारणा बनाएर अघि बढ्न सरकार लागि परेको बताए।
कोइरालाले संसदलाई प्रभावकारी बनाउन सांसदहरुले योगदान दिन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्। केही सांसदहरुलाई छोडेर भन्ने हो भने सांसदहरुको उपस्थितिनै नभईदिँदा संसदले गर्नुपर्ने कानुन निर्माणको काममा ढिलाई हुन गएको उनको भनाइ थियो।