PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

‘टेस्ट राइड’ गर्न निस्किएका युवक मोटरसाइकल लिएर फरार भएपछि...



रमेश पराजुली

‘टेस्ट राइड’ गर्न निस्किएका युवक मोटरसाइकल लिएर फरार भएपछि...

बुटवल : कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्ने चलन हुन्छ। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन्।

होस् पुर्‍याइएन भने परीक्षण गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै हुन्छ। रुपन्देहीमा यसैगरी ‘टेस्ट राइड’ गर्ने भन्दै भीआर मोटरसाइकल लिएर फरार भएका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

रुपन्देहीको सनामैना नगरपालिका-८ रामापुरबाट मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’ गर्न निस्केका सैनामैना-८ का १८ वर्षीय युवकलाई फरार भएको २ दिनपछि प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो। ती युवकलाई रुपन्देहीकै कञ्चन गाँउपालिका-१ को रातडाँडाबाट पक्राउ गरिएको सालझण्डी प्रहरीले जनाएको छ।

यसरी भयो घटना

रोल्पाको त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई पछिल्लो समय दाङमा बस्दै आएका दिलबहादुर विक गत सोमवार बिहान आफ्नै मोटरसाइकलमार्फत काठमाडौं जान भनेर दाङबाट बुटवलतर्फ आउँदै थिए।

रुपन्देहीको सनामैना नगरपालिका-८ रामापुरमा आएपछि मोटरसाइकल धनी विकले बा ५१ प ७४४३ नम्बरको भीआर मोटरसाइकल सडक छेउमा रोकि नजिकैको पसलमा चिया पिउने भन्दै पसे। उनी त्यहा आउँदा बिहानको साढे १० बजेको थियो।

उनी पसलमा बसेको एकैछिनमा एक अपरिचित स्थानीय जस्तो देखिने युवक उनको छेउमा आएर ‘कस्तो राम्रो मोटरसाइकल तपाईँको, मलाई त खुब मन पर्‍यो’ भनि मोटरसाइकल मुसार्न थाले।

मोटरसाइकल धनी विकले पनि मोटरसाइकल बिक्री गर्ने सोँच बनाएका थिए। उनले केहि दिन पहिला मात्र आफ्नो फेसबुकमा मोटरसाइकल बिक्रीमा रहेको भनी मोटरसाइकलको फोटोसहित १ लाख मुल्यसमेत तोकेर पोष्ट गरेका थिए।

विदेश जाने योजना बनाएका उनी पासपोर्टसम्बन्धि कामका लागि काठमाडौं हिँडेका थिए। ती युवकले आफूलाई मोटरसाइकल एकदम मन परेको र किन्ने बताएपछि विक र ती युवकबिच ९० हजार मुल्य तय गरी मोटरसाइकल किनबेच गर्ने सहमति भयो।

विकको मोटरसाइकल किन्न तयार भएका ती युवकले ‘खै कस्तो रहेछ’ भन्दै ‘टेस्ट राइड’ गर्न भनी चाबी मागे र स्टार्ट गरी त्यहाँबाट निस्किए। तर, केही समय कुर्दा पनि उनी फर्किएर आएनन्।

नफर्किएपछि काठमाडौं हिँडेका विकले आफ्नो मोटरसाइकल चोरी भएको आशंका गरे। अलमलमा परेका उनलाई चिया पसलेले मोटरसाइकल चोरी भएको सूचना प्रहरीलाई दिन सुझाव दिए।

त्यसपछि उनले इलाका प्रहरी कार्यालय सालझण्डीमा पुगेर घटना विवरण उल्लेख गरी निवेदन दिए। पीडित विकको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले दुई दिनपछि बुधवार ती युवकलाई मोटरसाइकलसहित पक्राउ गर्न सफल भयो।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल कञ्चन गाँउपालिका-१ रातडाँडास्थित भित्री सडकमा चलाइरहेकै अवस्थामा ती युवकलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका युवकलाई बुधवार नै जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell