
काठमाडौं : निर्वाचन आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोगका लागि गठन भएको समितको प्रतिवेदन सरकारलाई पठाएको छ। विद्युतीय मतदान यन्त्रको प्रयोगका लागि आवश्यक कानुन भएको निर्वाचन आयोगको ठहर छ।
प्रतिवेदनमा नेपाल भित्र बनेका मेसिनहरु तत्काल व्यवस्था नहुने भए साउन अन्तिमसम्म अरु देशमा निर्मित यन्त्रको प्रबन्ध गर्न पनि सरकारलाई आग्रह गरिएको छ। 'स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरि अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्र को आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ,'आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भएको थियो। समितिको प्रतिवेदनमा अबिलम्ब विद्युतीय मतदान मेसिनको 'स्पेशिफिकेशन', मेसिनको गुणस्तर चेकजाँच, विश्वसनियता परीक्षण गर्ने तथा मेसिनबारे सार्वजनिक रुपमा उठ्ने जिज्ञासाहरुको समाधान, मेसिनको सफलतापूर्वक कार्यान्वयन भएका मुलुकहरुको अनुभवबाट सिकेर उन्नत एवम् विशिष्ट प्राविधिक क्षमताले युक्त यन्त्रको प्रयोग नेपालको निर्वाचन व्यवस्थापनमा गर्ने जस्ता विषयहरु समावेश छन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले ६ वटा निर्वाचन क्षेत्रहरूमा उक्त मेसिनको प्रयोग गरेको थियो।