
वीरगंज : पर्साको बहुदरमाई नगरपालिका-७ विश्रामपुरको छपकैया टोलस्थित शम्सानघाटमा जलाउँदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।
विश्रामपुरका श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारीको शव गएराति जलाउँदै गरेको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो। शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।
गुपचुप किसिमले शव जलाइरहेको गाउँलेले प्रहरीमा सूचना दिएपछि ती किशोरीको आधा जलेको शरीर नियन्त्रणमा लिई अनुसन्धान थालेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शंकास्पद मृत्यु भएको किशोरीका बुबा, दाजुभाइ र आफन्तहरु फरार भएका छन् भने प्रहरीले मृतक किशोरीकी आमा, दिदी र ठूली आमालाई नियन्त्रणमा लिएको छ। सोधपुछका लागि तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डीएसपी प्रहालाद कार्कीले जानकारी गराए।
विष सेवन गरी आत्महत्या गरेकी महिमा कुमारीको शव, अभिभावक र आफन्तले पोस्टमार्टम नगरी घटना लुकाउन रातिको समयमा शम्सानघाटमा लगेर जलाउन लागेको खबर आएपछि अनुसन्धन थालिएको उनले बताए। शम्सानघाटमा प्रहरी पुग्दा शव जलाउनेहरु जल्दै गरेको शव छोडेर भागेका थिए।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतक किशोरीका छिमेकीका अनुसार, महिमा गाँउकै एक युवकसँग प्रेम सम्बन्धमा रहेका कारण अभिभावकले उनलाई मानसिक र शारीरिक याताना दिँदै आएका थिए।
त्यहि कारण महिमाले बुधवार राति विष सेवन गरी आत्महत्या गरेको र मृत्युपछि अभिभावकले प्रहरीलाई खबर नै नगरी शव जलाउन लागेका थिए। शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने र त्यसैको आधारमा अनुसन्धान प्रकृया थप अगाडि बढाइने बताइएको छ।