
काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको आरोप लगाएका छन्। बिहीवार नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुगेका नेता भण्डारीले देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका हुन्।
सभापति देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको भण्डारीको टिप्पणी थियो। अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरेपनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्न समेत नसकेको उनले आरोप लगाए।
उनले देउवा सत्तामा जाने राजनीतिका लागि सफल व्यक्ति भएको समेत बताए। सभापति देउवाले गुटको प्रतिनिधित्व नगरी सिंगो पार्टीको प्रतिनिधित्व गर्नुपर्ने उनको भनाइ थियो। उनले नेता शेखर कोइराला पक्षीय नेताहरुको भेला गुटको भेला नभई विचारको भेला भएको जिकिर गरे।
उनले भने, ‘यो गुटको भेला होइन विचारको भेला हो। हाम्रो पार्टीले छ महिनाको विधान अनुसार पनि काम गर्न नसक्ने, नीति अधिवेशन गर्ने हाम्रो प्रावधान छ। त्यो पनि गर्न नसक्ने। सबैले सरकार पुनर्गठन गर्छन् त्यसको बारेमा पनि कुनै आवाज उठाउन नसक्ने। सिंगो पार्टीको पनि नेतृत्व गर्न नसक्ने भइसकेपछि केही कुरा छलफल हुन्छ। सबै कुरालाई गुटको रुपमा हेर्नु हुँदैन। विचारको रुपले पनि हेर्नुपर्छ। उहाँले पार्टीभित्र, नेपाली काँग्रेसका सभापति सत्तामा जाने राजनीतिको लागि सफल व्यक्तिले गुटको प्रतिनिधित्व नगरेर सिंगो पार्टीको प्रतिनिधित्व गर्दै मुलुकको प्रतिनिधित्व गर्नुस् भन्ने हाम्रो दृष्टिकोण हो।’
नेता कोइराला पक्षीय नेताहरुको भेला बत्तिसपुतलीमा जारी छ। -न्युज एजेन्सी नेपाल